| सोमवार, कार्तिक २३, २०८३

खत्रीद्वारा पत्रकार महासंघलाई जग्गा दान, भबन निर्माण प्रक्रिया थालिने

गोरखा नगरपालिका ८ रानीवनका शम्भु खत्रीले नेपाल पत्रकार महासंघ गोरखा शाखालाई दुई आना जग्गा दान गरेका छन् । गोरखा नगरपालिका–८ आलेगाउँ समिचौताराको दुई आना जग्गा खत्रीले स्वर्गीय बुवा तिलकबहादुर खत्री र आमा साननानी खत्रीको सम्झनामा पत्रकार महासंघलाई विधिवत रुपमा प्रदान गरेका हुन् ।

उनले मालपोतबाट राजिनामा पास गरी महासंघका अध्यक्ष नरहरि सापकोटा लगायतका पदाधिकारीलाई सोमबार लालपूर्जा हस्तान्तरण गरेका छन् । संगैको एक आना जग्गा भने उनले महासंघलाई बिक्री गरेका छन् ।
यससंगै पत्रकार महासंघ गोरखाले भवन निर्माणका लागि तीन आना जग्गा प्राप्त गरेको छ ।

‘स्वर्गीय आमाबुबाको सदासर्वदा सम्झना रहने गरी कुनै मठ–मन्दिर वा पाटी–पौवा बनाउने रहर थियो,’ उनले भने, ‘पत्रकार महासंघको भवन निर्माणका लागि जग्गा दान गर्न वडाअध्यक्षज्यूले पनि आग्रह गर्नुभयो । महासंघले पनि अनुरोध ग¥यो, अनि दुई आना जग्गा निशुल्क उपलब्ध गराएको हुँ ।’ महासंघको भवनमा बुबा आमाको नाम ताम्रपत्र बनाएर राख्न उनले आग्रह गरेका छन् । महासंघलाई जग्गा उपलब्ध गराउन पाउँदा उनले खुशी समेत व्यक्त गरेका छन् ।

जग्गा प्राप्तिमा गोरखा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष कृष्ण केसी, नापी कार्यालय गोरखाका प्रमुख अमृत पाण्डे, मालपोत कार्यालयका कर्मचारी लगायतले सहयोग गरेका थिए । जग्गादाता शुम्भु खत्रीसहित प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई पत्रकार महासंघले धन्यबाद दिएको छ ।

प्राप्त भएको जग्गामा महासंघको भवन निर्माण गरिने अध्यक्ष सापकोटाले बताए । ‘भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट दश लाख रुपैयाँसमेत प्राप्त भइसकेको छ,’ अध्यक्ष सापकोटाले भने, ‘ढिला नगरी यसैबर्ष भवन निर्माणको काम अघि बढाउछौँ ।’ आवश्यक बाँकी रकमका लागि स्थानीय तह, बिभिन्न संघसंस्था र व्यक्तिहरुसँग समन्वय गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्