
नवनिर्मित गोरखा अस्पताल भवन हस्तान्तरण
भूकम्प पछि निर्माण भएकोे गोरखा अस्पतालको सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बुद्धी प्रसाद दवाडीलाई शुक्रबार निर्माण कम्पनी लुम्बिनी विल्डर्सल निर्माण गरेकोभवन हस्तान्तरण गरेको हो ।
‘२०७६ सालबाट भवन निर्माण सुरु भएको हो, सम्झौता भए अनुसार १४ महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो तर कोभिड, लकडाउनका कारण भवन निर्माण कार्य ढिलाइ भएको थियो,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने । नवनिर्मित अस्पताल भवनको नक्सा सहित कागजपत्र अस्पताल व्यवस्थापन निर्माण कम्पनीले हस्तान्तरण गरेको हो ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत दातृ निकाय जर्मन संस्था के एफ. डब्लुको आर्थिक सहयोगमा ५० शैयाको अस्पालत भवन निर्माण भएको ढकालले जानकारी दिए ।
नवनिर्मित अस्पतालको चार तले मुख्य भवनमा ६६ कोठा छ । उनले भने, ‘पहिलो तल्लामा प्रसुति विभाग, प्रयोगशाला, रेडियोलोजी विभाग, प्याथोलोजी, डिस्पेसरी, मनोविमर्श कक्ष र काउन्टर लगायतका विभागहरु रहेका छन । दोस्रो तल्लामा अप्रेशन थिएटर, ओपिडी, क्याबिन र डेन्टल विभाग रहेको छन भने तेस्रो तल्लामा अन्तरंग विभाग रहेको छ ।’ चौथो तल्ला प्रशासन, लेखा र स्टोर विभाग र मल्टी प्रपोज हल रहेको उनले जानकारी दिए ।
अस्पतालको नवनिर्मित भवनमा सामान सार्ने र अन्य व्यवस्थापनको काम भइरहेको बताउदै छिट्टै नयाँ भवन वाट सेवा प्रवाह गरिने पनि ढकालले बताए । आइतबारबाट अस्पतालले उपकरणहरु नयाँ भवनमा सार्ने काम सुरु गर्ने उनले बताए ।
नवनिर्मित अस्पताल भवन निर्माणमा ढिलाई हुँदा विगत तीन वर्ष देखि चिकित्सकको आवास गृहबाट सेवा प्रवाह भइरहेको छ । गोरखा अस्पतालमा अहिले दैनिक सरदर एक सय पचास जना विरामी सेवा लिन आउने गरेका छन् ।हस्तान्तरण कार्यक्रममा परामर्श दाता कम्पनीका डेपुटी टिम लिडर इन्जिनियर सुरेन्द्र बज्राचार्यले अस्पताल भवनको प्राविधिक पक्षको बारेमा जानकारी गरएका थिए ।
हस्तान्तरण कार्यक्रममा संघीय स्वास्थ्य मन्त्रालयका प्रतिनिधि वरिष्ठ जनस्वास्थ्य प्रशासक भिमप्रसाद सापकोटा, दातृ निकाय जर्मन संस्था के एफ. डब्लु कन्ट्री लिड शंकरराज पाण्डे, परामर्श दाता कम्पनी हाइड्रोप्लान र जोहन स्याण्डी का डेपुटी टिम लिडर ईन्जीनियर सुरेन्द्र बज्राचार्य पुर्वाधार विकास कार्यालयका इन्जिनियर अजय श्रेष्ठ , गोरखा नगरपालिकाका प्रतिनिधि, अस्पताल व्यवस्थापन समितिका सदस्य निमित्त मेडिकल डाक्टर गणेश श्रेष्ठ लगायत स्वास्थ्यकर्मी र कर्मचारीहरुको उपस्थिती रहेको थियो । अस्पताल भबन सुविधा सम्पन्न बनेपनि दक्ष जनशक्ति र उपकरण नहुँदा ब्यवस्थापनमा भने चुनौती देखिएको छ ।




