| सोमवार, कार्तिक २३, २०८३

गोरखाका पाँच स्थानीय तहमा मंसिर १७ र बाँकीमा २९ गतेबाट मतदाता नामावली संकलन हुने

गोरखामा पाँच स्थानीय तहमा मंसिर १७ गतेबाट र बाँकीमा मंसिर २९ गतेबाट फोटो सहितको मतदाता नामावली संकलन हुने भएको छ ।
पहिलो चरणमा मंसिर १७ देखि २६ गते सम्म मतदाता नामावली संकलन हुने छ । धार्चे, बारपाकसुलिकोट, गण्डकी, अजिरकोटको र पालुङटार नगरपालिकामा पहिलो चरणको मतदाता नामावली संकलन हुने कार्यालय प्रमुख टेकबहादुर कोइरालाले जानकारी दिए ।

‘पहिलो चरणमा पाँच स्थानीय तहमा १०÷१० काम गरे पछि अन्य बाँकी स्थानीय तहमा मतदाता नामावली संकलन सुरु गर्ने गछौँ’ उनले भने । बाँकी स्थानीय तहमा मंसिर २९ गतेबाट सुरु गर्ने उनले बताए । दोस्रो चरणमा आरुघाट, भिमसेन थापा, शहिदलखन, सिरानचोक गाउँपालिकामा मंसिर २९ गतेबाट मतदाता नामावली संकलन हुने उनले जानकारी दिए ।

त्यस्तै, गोरखा नगरपालिका क्षेत्रको जिल्ला समन्वय समिति गोरखामा अहिले भइरहेको नामावली संकलन स्थलबाटै काम हुने कार्यालय प्रमुख टेकबहादुर कोइरालाले बताए । दुर्गमको चुमनुब्री गाउँपालिकामा यसअघि नै मतदाता नामावली संकलन भइरहेको छ । चुमनुब्री गाउँपालिको सिर्दिबासमा रहेको केन्द्रबाट गत भदौ १ गतेदेखि नामावली संकलन भईरहेको कार्यालयले जनाएको छ । अन्य पालिकामा पनि संकलन हुने भएपछि त्यहाँ पनि एक महिना समय थप गरिएको र जनशक्ति पनि पठाइएको थियो ।

सबै स्थानीय तहमा चार जनाको एउटा टिम बनाएर खटाइने छ । दर्ता कार्य व्यवस्थापक, दर्ता अधिकारी र दुई जना सहयोगी गरी चार जनाको समूह परिचालन हुनेछ । कार्यालयका कर्मचारी अपुग रहेकाले यसअघि निर्वाचनमा खटिएका अनुभवी कर्मचारीलाई समूह बनाएर खटाइने जनाएको छ । कर्मचारी नभएको खण्डमा पालिकाकै कर्मचारीसँग समन्वय गरी मतदाता नामावली संकलन गरिने उनले बताए । त्यस्तै, मतदाता नामावली फाराम भर्दा केही त्रुटी भएमा वा सच्याउनु परेमा जिल्ला सदरमुकाममा नै आउनुपर्ने उनले बताए ।

‘मतदाता नामावलीमा केही त्रुटि भएमा, सच्याउनपुर्ने वा बसाईसराई लगायतका कार्य गर्न आवश्यक प्रमाण पुग्ने कागजात लिएर सदरमुकाममा रहेको मतदाता नामावली संकलन केन्द्रमा आउनुपर्छ । पालिकाबाट यो काम हुदैन’ उनले भने । त्यस्तै अन्य जिल्लामा मानिसहरु गोरखाबाट नै मतदाता नामावली सहभागी हुनसक्ने समेत उनले बताए । मतदाता परिचय पत्र भने फारम भर्दा उल्लेख गरिएको मतदान स्थलबाट लिन सकिनेछ । यो ब्यवस्था यसअघि भने थिएन ।

प्रतिक्रिया दिनुहोस्