
३७ करोडको अस्पताल भवन, न जनशक्ति न उपकरण
३७ करोड रुपैयाँको लागतमा आधुनिक सुविधासम्पन्न भवन ठडियो, तर जनशक्ति तथा उपकरण अभाव हुँदा गोरखा अस्पतालले नयाँ भवनबाट सेवा सुरु गर्न सकेको छैन ।
‘भवन त ठडियो तर फर्निसिङ भएको छैन, उपकरण पनि छैनन्’, निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर गणेश श्रेष्ठ भन्छन्, ‘म र अर्का एकजना मेडिकल अधिकृत मात्र हुनुहुन्छ । जनशक्ति र आवश्यक उपकरणको अभावमा उहाँमा पनि काम गर्ने जोश जाँगर देखिदैन ।’ काम गर्ने वातावरण नपाएर उनी पनि सरुवा जाने ध्याउन्नमा रहेको उनले बताए ।
अस्पतालमा यथोचित उपकरण चाहियो भनेर पटक पटक सम्बन्धित निकायमा अनुरोध गरे पनि नपाइएको मेडिकल सुपरिटेण्डेण्ट डाक्टरश्रेष्ठले बताए । ‘गत असोजमा स्वास्थ्य मन्त्री अस्पतालमा आउनुहुँदा पनि आवश्यक सामग्री पठाइदिन अनुरोध गरेका थियौँ । फेरि पनि उपकरण उपलब्ध गराइदिन अनुरोध गर्ने तयारी छ’, उनले भने, ‘भवन मात्र भएर नहुने रहेछ । जनशक्ति र उपकरणको पनि उत्तिकै जरुरी पर्ने रहेछ ।’ निर्माण कम्पनीले आउँदो शुक्रबार भवन हस्तान्तरण गरे कार्यक्रम छ । ‘भवन हस्तान्तरण भएपछि सबै सेवा सुचारु गर्न सकिँदैन’, उनले भने, ‘स्रोत साधन हेरी विस्तार ै(विस्तारै सेवा सुचारु गर्ने योजना छ ।’
गोरखा अस्पतालमा चार जना मेडिकल अफिसरको दरबन्दी छ । तर अहिले मेसुसहित जम्मा दुईजना मात्र कार्यरत छन् । अस्पतालमा बिगत तीनबर्षदेखि प्रमुख मेडिकल सुपरिटेण्डेण्ट पनि नभएको सूचना अधिकारी कृष्ण ढकाल बताउँछन् । ‘एघारौँ तहको मेडिकल सुपरिटेण्डेण्टको दरबन्दी हो तर बिगत तीनबर्षदेखि आठौँ तहका मेडिकल सुपरिटेण्डेण्टले अस्पतालको नेतृत्व गरिरहनु भएको छ ।’ तीनबर्षमा चार जना निमित्त मेसुले अस्पताल सञ्चालन गरेका उनले बताए ।
जनशक्ति र उपकरण अभावले अस्पतालबाट प्रभावकारी सेवा नभएको ढकालले बताए । ‘जति धेरै स्रोत साधन उपलब्ध भयो, उति सेवा प्रभावकारी हुन्छ’, उनी भन्छन्, ‘तर यहाँ इमर्जेन्सीमा, अन्तरंग सेवामा खटिने जनशक्ति जम्मा एकजना मात्र हुनुहुन्छ ।’
कोभिडको महामारीपछि एकसाथ २९ जना जनशक्तिको म्याद सकिँदा समस्या भएको सूचना अधिकारी ढकालले बताए ।
५० शैयाको गोरखा अस्पतालमा अहिले दैनिक सरदर एकसय पचास जना बिरामी सेवा लिन आउने गरेका छन् । नयाँ भवन प्रयोगमा नआउँदा बिगत तीनबर्षदेखि चिकित्सकको आवास गृहबाट सेवा प्रवाह भइरहेको छ ।




