
नाति, नातिनासित परीक्षा दिँदै आमाहरु
हिजो मंगलबार अंग्रेजीको बिषयको परीक्षा, ७० बर्षकी विष्णुमाया गुरुङलाई लेख्न हम्मेहम्मे भयो । मंसीरको जाडोमा पनि निधारमा चिटचिट पसिना निकाल्दै उनी कक्षा एकको परीक्षा दिँदै छिन् ।
‘छ्याः पसिनै पो आयो’, परीक्षा सकेर विद्यालयको चहुरमा भेला भएका संगीहरुसित अनुभव साँटासाँट गर्दै बिष्णुमायाले भनिन्, ‘हिँजो नेपालीको जाँचमा बरु अलिअलि लेखेँ ।
आज त मुस्किलै भयो ।’ उनको दुखमा दुख थप्दै अर्की ६१ बर्षकी आशमाया गुरुङले सबै प्रश्नको हल गर्न नसकेको सुनाइन् । ‘मैले त दुईवटा छोडेँ’, उनले भनिन्, ‘बिहान नाति, नातिनासित सिकेर आएको, जम्मै बिर्सिएछु । ठूलो त लेखेँ । सानो एबिसी लेख्न जानिन ।’ परीक्षा बिगारेको एउटाको दुखेसोले अर्काले राहत महशुस गरिरहे जस्तो देखिन्थे ।
कतिपय वृद्धवृद्धाहरु परीक्षाहलमा पनि नाति, नातिना उमेरका बालबच्चाहरुसित खासखुस गरेर सोधिरहे जस्तो देखिन्थ्यो ।
गोरखा सदरमुकामको बालमन्दिर माविमा उनीहरु जस्ता अरु सातजना आमा, हजूरआमाहरुले पनि प्रथम त्रैमासिक परीक्षा दिइरहेका छन् । परीक्षा हलमा र परीक्षा सकेर बाहिर निस्केका उनीहरु सबैको मुहारमा समान पीडा देखिन्छ ।
बालबालिका मात्र पढ्ने बालमन्दिरमा यो बर्षदेखि वृद्धाहरु पनि भर्ना भएर पढिरहेका छन् । विभिन्न ग्रामीण भेगबाट आएका नौ जना ज्येष्ठ महिलाहरु यहाँ पढ्न थालेका हुन् ।
उमेरमा पढ्न नपाएको र प्रौढ शिक्षाबाट पनि बञ्चित भएपछि बुढेसकालमा पढ्न थालेको उनीहरुको भनाइ छ ।
‘हाम्रो पालामा विद्यालय थिएन । सानोमा पढ्न पाइएन । प्रौढ पढ्ने बेलामा घरको कामले फुर्सद भएन । अहिले कालो अक्षर भैँसी बराबर भयो’, आरुघाट गाउँपालिका १ माझगाउँकी ७० बर्षकी विष्णुमाया गुरुङ भन्छिन्, ‘अहिले मेरो पनाति कक्षा ५ मा पढ्छ । म अक्षर चिन्ने रहरले १ कक्षामा भर्ना भएर पढ्न आएको हुँ ।’ अक्षर चिनेपछि थप कक्षा पढ्न उमेरले पनि समस्या हुने हो कि भन्ने चिन्ता उनलाई छ ।
सोही ठाउँ बस्ने अर्की विष्णुमाया गुरुङलाई श्रीमानले त्यागेपछि पढेर प्रगति गर्ने इच्छा जाग्यो ।
‘घरको अबस्था पनि त्यस्तै भएर सानोमा पढ्न पाइएन । सानैमा बिहे गर्नुप¥यो । बिहे गरेको केही बर्षपछि बुढाले अर्को ल्याए’, अशिक्षित हुनु पर्दाको पीडा सुनाउँदै उनी भन्छिन्, ‘दुईचार पैसा कमाउन खाडीतिर गएँ ।
१० बर्षभन्दा धेरै त्यहाँ बसेँ । अक्षर नचिन्दा यति नि दुख भएन ।’ नपढे केही गर्न नसकिने रहेछ भनेर पढ्न थालेको उनले बताइन् । ‘सबै जना मोवाईल हेर्छन् । आफू लाटी जस्तो भएर ट्वाँ पर्नुपर्छ’, ५६ बर्षकी उनी भन्छिन्, ‘मोबाइलमा आएको म्यासेज हेर्न, फेसबुक चलाउन, कतै निस्कँदा गाडी नम्बर थाहा पाउन, देश भित्र भएका घटना जान्न अक्षर नचिनी नहुने रहेछ त्यसैले पढ्न आएको हुँ ।’
यहाँ सुरुमा दुई जना विष्णुमाया गुरुङ भर्ना भएका थिए । उनीहरु पढ्न थालेको खबर पाएपछि भर्ना हुनेको संख्या बढिरहेको छ । ‘अहिले ७० बर्षकी विष्णुमाया गुरुङ, ५६ बर्षकी विष्णुमाया गुरुङ, ६१ बर्षकी आशमाया गुरुङ, ३७ बर्षकी आइतमाया घले, ४५ बर्षकी मंगलीमाया गुरुङ, ४० बर्षकी सेतीमाया गुरुङ, ३२ बर्षकी छिनीमाया गुरुङ, ३० बर्षकी सरिता गुरुङ भर्ना भएर पढेका छन्’, विद्यालयका प्रधानाध्यापक शिव थापा भन्छन्, ‘पढ्ने रहरलाई उमेरले छेक्दैन । उहाँहरुलाई सकेसम्मको सेवा सुविधा दिएर पढाइरहेका छौँ ।’ नगरपालिकाको शिक्षा शाखासँग समन्वय गरी उनीहरुलाई थप सेवा सुविधाका साथ पढाउने योजना रहेको उनले बताए ।
साक्षर जिल्ला घोषणा गरिसकेकाले पढ्नबाट बञ्चित भएकालाई समेट्ने अर्को कार्यक्रम नहुँदा उनीहरु नाति पनातिसित बसेर पढ्नु परेको हो । ‘छुटेकालाई फेरि समेटेर पढाउने खालको कुनै कार्यक्रम प्रदेश सरकारबाट पनि आएको छैन’, गोरखा नगरपालिकाका नगर शिक्षा अधिकारी चन्द्रबहादुर खड्का भन्छन्, ‘साक्षर जिल्ला घोषणा नभएका जिल्लामा अनौपचारिक कक्षा चल्छ । साक्षर भइसकेका जिल्लामा साक्षरोत्तर कार्यक्रम गर्ने योजना थियो तर कोभिडका कारण प्रभावकारी हुन सकेको छैन ।’




