
गोरखा नगरपालिकाका सतप्रतिशतले लगाए कोरोना खोप
सरकारले निर्धारण गरेको मापदण्डभित्र परेका गोरखा नगरपालिकाका सबैले कोरोना खोप लगाएका छन् । लक्षित सबैले कोरोना विरुद्धको खोप लगाएका गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिए ।
‘यही मंसीर २ गतेभित्र गोरखा नगरपालिकाभित्रका १८ बर्षभन्दा माथिका ३१ हजार जनालाई कोभिड १९ को खोप लगाउने हाम्रो लक्ष्य हो’, रेग्मीले भने, ‘तर हामीले टार्जेट भन्दा धेरै ३४ हजार जनालाई लगायौँ । कोही छुटेका छन् कि भनेर अझै खोजी गरिरहेका छौँ ।’ खोज्ने क्रममा मंसीर २ गतेपछि पनि करिब पाँचसय जनाले कोभिडविरुद्धको खोप लगाएको उनले बताए ।
जिल्ला सदरमुकामसमेत रहेको गोरखा नगरपालिकामा नगरपालिकाबाहिर तथा जिल्ला बाहिरका समेत बसोबास गर्छन् ।
गोरखा नगरपालिकामा गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा अग्रपंत्तीमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई यो खोप लगाइएको थियो ।
गोरखा नगरपालिकामा गोरखा अस्पतालको संस्थागत क्लिनिकलगायत छवटा स्वास्थ्यचौकी, सातवटा आधारभूत स्वास्थ्य संस्था र चारवटा सहरी स्वास्थ्यकेन्द्रबाट खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख रेग्मीले जानकारी दिए ।
कोभिडविरुद्धको खोप अभियानलाई सघन रुपमा सञ्चालन गर्न गोरखा नगरपालिकाले घरदैलोमा पुगेर खोप लगाएको थियो । ‘सबै कामभन्दा पहिले त नगरबासीको ज्यान बचाउनु पर्छ भनेर हामीले खोप अभियानलाई सघन रुपमा सञ्चालन गरेका छौँ’, गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने, ‘अपांग, असक्त, बूढाबूढी र छुटेका सबैलाई घरघरमा पुगेर खोप लगाइयो । ठूला आयोजना सञ्चालन भएका ठाउँमा पुगेर मिस्त्री, कुल्ली तथा मजदुरहरुलाई खोप लगाएको थियो ।’ लक्षितमध्य ११५ प्रतिशतलाई खोप लगाएको उनले बताए ।
गोरखा नगरपालिकामा दोस्रो मात्रा खोप भने १४ हजार जनाले मात्र लगाएका छन् । अब छिट्टै सबैलाई दोस्रो मात्रा लगाउने अभियान पनि सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लाका पालिकामध्य गोरखा नगरपालिकाको स्वास्थ्य शाखा प्रदेशकै उत्कृष्ठ भएको छ । खोपको कभरेज, कोभिड व्यवस्थापन, पिसिआर आदि सूचकको आधारमा गरिएको स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा ८५.५३ प्रतिशत अंका ल्याई गोरखा नगरपालिका प्रदेशकै उत्कृष्ठ भएको नगरपालिकाले जनाएको छ ।




