खाल्डाखुल्डी तत्काल मर्मत गर
गोरखा बजारभित्रैको सडक जीर्ण भएपछि सवारी चलाउनेले सकस ब्यहोर्नु परेको छ । बजारको मुख्य सडकको विभिन्न स्थानमा खाल्डाखुल्डी परेको छ । यत्रतत्र खाल्डाखुल्डी भएको सकडमा जोखिमपूर्ण यात्रा गर्न सर्वसाधारण बाध्य छन् ।
सडकमा भएको खाल्डाखुल्डी पुर्न र मर्मत सम्भारमा कसैले चासो दिएको छैन । ठुला भन्दापनि साना सवारी साधन अझै मोटरसाईकलमा यात्रा गर्नेहरु दुर्घटनामा पर्ने गरेका छन् ।
जिल्ला सदरमुकामको सडक सबभन्दा बढी सवारी आवागम हुने मात्र होइन, नीति निर्माण गर्ने, निर्देशन तथा कामको जिम्मा दिने व्यक्ति तथा निकायको पनि दिनहुँ आँखा परिरहने ठाउँ हो । तर मर्मतमा ध्यान कसैको जाँदैन ।
बजार प्रवेशद्वार खोलखोलेदेखि गोरखा नगरपालिका कार्यालय खण्ड, हरमटारीदेखि बसपार्क खण्ड, सतिपिपलदेखि गोरखा दरबार खण्ड, हस्पिटलचोकदेखि आहाले सम्मको खण्ड लगायतका विभिन्न स्थानमा खाल्डाखुल्डी परेको छ ।
खोलखोलेदेखि नगरपालिका चोकसम्म र सतीपिपलदेखि गोरखा दरबारसम्मको सडकको रेखदेख र स्तरउन्नतिको काम संघीय आयोजना कार्यान्वयन इकाई पोखराले गर्दै आएको छ । सडक बिग्रिएको भत्किएको बारे पोखरामा रहेको कार्यालयले देख्दैन, सुन्दैन । टाढा रहेको कार्यालयले आम नागरिकले पाएको दुःख बुझेको आभास भएको छैन ।
यस्ता खाल्डाखुल्डी पुर्न स्थानीय सरकारले पनि तदारुकता देखाउन दबाव दिन सक्नुपर्छ । आफ्नो पसल, घर अगाडीको सानो खाल्डो पुर्न पनि नगरपालिका, सडक कार्यालयलाई गाली गरेर बस्नेहरुले पनि आफ्नो दायित्व बिर्सनु हुँदैन । अब्यवस्थित ब्यापार र निर्माणका कारण पनि गोरखा बजार क्षेत्रको सडकको यो दुर्गती भएको हो ।
सडक बिगार्नेलाई मर्मत तत्काल गराउन लगाउनुपर्छ । अहिले सानो खाल्डो देखिएको सडक भोली दुर्घटनाको बाटो बन्न सक्छ । सकिन्छ रड सिमेन्टले पुरौँ सकिन्ने माटोले भएपनि तत्काल पुरौँ ।




