| सोमवार, कार्तिक २३, २०८३

मङ्सीर १७ गतेदेखि गोरखाका सबै पालिकामा मतदाता नामावली संकलन हुने

केशव गुरुङ

मङ्सीर १७ गतेदेखि गोरखाको सबै पालिकामा मतदाता नामावली संकलन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार जिल्लाका ११ वटै स्थानीय तहको केन्द्रबाट नामावली संकलन हुने भएको हो ।

गोरखा नगरपालिका क्षेत्रको जिल्ला समन्वय समिति गोरखामा अहिले भइरहेको नामावली संकलन स्थलबाटै काम हुने कार्यालय प्रमुख टेकबहादुर कोइरालाले बताए ।

दुर्गमको चुमनुब्री गाउँपालिकामा यसअघि नै मतदाता नामावली संकलन भइरहेको छ । चुमनुब्री गाउँपालिको सिर्दिबासमा रहेको केन्द्रबाट गत भदौ १ गतेदेखि नामावली संकलन भईरहेको थियो । अन्य पालिकामा पनि संकलन हुने भएपछि त्यहाँ पनि एक महिना समय थप गरिएको र जनशक्ति पनि पठाइएको कार्यालयले जनाएको छ ।

बाँकी स्थानीय तहमा भने चार जनाको एउटा टिम बनाएर खटाइने उनले जानकारी दिए । उनले भने, ‘गोरखा नगरपालिका र चुमनुब्री बाहेक अन्य स्थानीय तहमा ४÷४ जनाको टिम बनाएर खटाउने तयारी भइरहेको छ । एउटा टिमलाई दुईवटा पालिकाको जिम्मेवारी दिनेछाँै ।’ दर्ता कार्य व्यवस्थापक, दर्ता अधिकारी र दुई जना सहयोगी गरी ४ जनाको समूह परिचालन हुनेछ । एक टोलीले एउटा पालिकामा १० दिनसम्म मददाता नामावली संकलन गर्ने उनले बताए ।

कार्यालयका कर्मचारी अपुग रहेकाले यसअघि निर्वाचनमा खटिएका अनुभवी कर्मचारीलाई समूह बनाएर खटाइने जनाएको छ । कर्मचारी नभएको खण्डमा पालिकाकै कर्मचारीसँग समन्वय गरी मतदाता नामावली संकलन गरिने उनले बताए ।

त्यस्तै, मतदाता नामावली फाराम भर्दा केही त्रुटी भएमा वा सच्याउनुपरेमा जिल्ला सदरमुकाममा नै आउनुपर्ने उनले बताए । ‘मतदाता नामावलीमा केही त्रुटि भएमा, सच्याउनपुर्ने वा बसाईसराई लगायतका कार्य गर्न आवश्यक प्रमाण पुग्ने कागजात लिएर सदरमुकाममा रहेको मतदाता नामावली संकलन केन्द्रमा आउनुपर्छ । पालिकाबाट यो काम हुदैन’ उनले भने ।

त्यस्तै अन्य जिल्लामा मानिसहरु गोरखाबाट नै मतदाता नामावली सहभागी हुनसक्ने समेत उनले बताए । उनले भने ‘गोरखाको मान्छे काठमाडौँ छ । उनी गोरखा आउन समय छैन भने काठमाडौबाट नै मतदाता नामावली फाराम भर्न पाइन्छ ।’ मतदाता परिचय पत्र भने फारम भर्दा उल्लेख गरिएको मतदान स्थलबाट लिन सकिनेछ । यो ब्यवस्था यसअघि भने थिएन ।

प्रतिक्रिया दिनुहोस्