
प्रशासनले गोरखामा एमआरपीको फारम संकलन नगर्ने, अब ई–पासपोर्ट
जिल्ला प्रशासन कार्यालय गोरखाले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को लागि फारम संकलन नगर्ने भएको छ । प्रशासकिय अधिकृत चुणानिधि तिवारीले आज एक सुचना जारी गर्दै अबदेखि कार्यालयले एमआरपी फारम नलिने बताएका छन् ।
राहदानी बिभागबाट विद्युतिय राहदानी ई–पासपोर्ट जारी गर्ने काम सुरु भएकाले जिल्ला प्रशासनबाट हुने फारम संकलन तथा द्रुत सिफारिस संम्बन्धी काम नगर्नु भन्ने निर्देशन आएपछि प्रशासनले काम रोकेको हो । तत्काल पासपोर्ट चाहिनेहरुले भने प्रमाण सहित कागजात पेश गरेर एमआरपी फारम भरी द्रुत सेवा लिन सक्नेछन् ।

त्यसका लागि राहदानी लिन काठमाण्डौँ जानुपर्छ र दोब्बर दस्तुर लाग्छ । सामान्य अवस्थामा भने अब विद्युतिय राहदानी बन्नेछ । तत्काल राहदानी दिने गरी बिभागले योजना बनाएको भएपनि अहिले भने ई–पासपोर्टका लागि दुई महिना सम्म समय लाग्ने प्रशासन कार्यालयले जनाएको छ ।
इ–पासपोर्ट राहदानी बिभागको वेभसाईटबाट घरैमा बसेर पनि भर्न सकिन्छ । त्यसरी भरेको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा फोटो खिचाउन भने सेवाग्राही आउनुपर्ने गोरखाका प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्यले बताए । ‘नागरिकताको बिवरण जाँच गर्न र फोटो खिच्न सेवाग्राही आउनुपर्छ’ उनले भने ‘अन्य बिवरण सहितको फारम घरबाटै भर्न सकिन्छ ।’ यस अघि जस्तो फारम भर्न पनि पैसा तिर्नुपर्ने, अलमल हुने समस्या सेवग्राहीले झेल्नु नपर्ने उनले बताए ।




