| सोमवार, कार्तिक २३, २०८३

एक सय १७ रोपनीमा अकबरे खुर्सानी खेती

गोरखाको गण्डकी गाउँपालिका ४ फुजेल ढाबेमा एक सय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिएको छ । किसान जीतबहादुर भट्टले आफ्नो पैत्रिक १६ रोपनी र भाडामा लिएको एकसय एक रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरेका हुन् ।
‘अकबरे खुर्सानी खेतीको बारेमा धेरै अध्ययन गरेको छु । मेरो जानकारीमा भएसम्म नेपालकै सबैभन्दा ठूलो अकबरे खुर्सानी खेती यही हो’, किसान भट्टले भने ‘तर अहिलेसम्म मैले कहिँ कतैबाट अनुदान, सहयोग लिएको छैन ।’ उनले बिगत दुईवर्षदेखि खुर्सानी लगाउने तयारी थालेका हुन् ।


उत्पादन भने गत भदौदेखि सुरु भएको उनको भनाइ छ । ‘बेमौसमी वर्षातले धेरैठूलो नोक्सानी भयो’, उनले भने, ‘यो बेला ३० लाख रुपैयाँको खुर्सानी बेच्ने लक्ष्य थियो तर जम्मा एक लाख ५० हजारको मात्रै बेचेँ ।’ अहिलेसम्म पाँच क्विन्टल मात्र खुर्सानी बिक्री गरेको उनले बताए । ‘बिक्री गर्न बजारको भने समस्या छैन । अहिले दुईसय २५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ’ उनले भने ‘तर उत्पादन यो सिजनमा भएन, वर्षातले बोट सखाप बनायो ।’


खुर्सानी खेतीका लागि मात्रै उनले ३७ लाख रुपैयाँ खर्च गरेका छन् । ‘वर्षातले नबिगारेको भए लगानी गरेजति उठ्ने थियो’, उनले भने, ‘अहिले ब्यवशाय सुरु गर्दा लागेको ऋण तिर्न सक्ने अवस्था छैन । कतैबाट सहयोग भयो भने खुर्सानीको पकेट क्षेत्रको रुपमा बिकास गर्ने योजना पनि बनाएको छु ।’ यहाँको हावापानीमा अकबरे खुर्सानी राम्रो फल्ने उनले बताए । पिरो पनि अत्याधिक हुने हुँदा माग भने उच्च रहेको किसान भट्ट बताउँछन् ।


जीतबहादुर भट्ट भुतपूर्व सैनिक हुन् । २०५६ सालमा नेपाली सेनाबाट निवृत्त भए । त्यसपछि उनको बसोबास गोरखा नगरपालिका १३ देउराली रामशाह टोलमा भयो । लामो समय सामाजिक क्षेत्रमा सक्रिय भए । रामशाह टोल सुधार समितिको दुई कार्यकाल अध्यक्ष भएर काम गरे । बिभिन्न सामाजिक संघ संस्थामा उनी आवद्ध रहे । मझुवामा रहेको गोरखकाली रबर उद्योगको बचाउ समितिमा ६ वर्ष सम्म संयोजक भएर स्थानीयको प्रतिनिधित्व गर्दै अभियान चलाए । सँगसँगै उनले पेशा ब्यवशाय पनि गरेका थिए । भूकम्प, नाकाबन्दी जस्ता कारणले उनको ब्यापार खस्कियो । त्यसपछि उनी किसानी गर्ने सोच बनाएर पैत्रिक थलो फुजेल फर्किएका हुन् ।


२०७४ सालमा गाउँ फर्किएका उनले सुरुमा बाख्रा पाल्ने सोच बनाएका थिए । गाउँमा ब्यवस्थित रुपमा चल्न नसकेको कालिका कृषक समुहले संचालन गरेको बाख्रा फार्म उनले लिए । २०७५ मा उनले २२ वटा बाख्राबाट ब्यवशाय थाले । एकै पटक ५३ वटा बाख्रा मरेपछि ठुलो आर्थिक क्षति ब्यहोर्नुपरेको उनले बताए । बाख्रालाई मात्रै १४ लाख रुपैयाँ लगानी गरेको उनी बताउँछन् ।
‘बाख्रापालन व्यवसायमा क्षति भएपछि खुर्सानीको संभावना देखेँ’, उनले भने, ‘७५ हजार बिरुवा लगाएको २५ हजार भन्दा बढि पानीले खत्तम बनाएपछि समस्या भएको हो ।’ एकपटक रोपेको खुुर्सानीको बोटले तीन वर्षसम्म उत्पादन दिने उनी बताउँछन् । वर्षमा दुईदेखि चार पटक टिप्न मिल्छ ।
उनले स्थानीय महिलाहरु छ देखि १० जना सम्मलाई रोजगारी दिएका छन् । दैनिक छ सय रुपैयाँमा बिहान बेलुकी घरको काम गरेर कमाई गर्न पाउँदा स्थानीय पनि दंग छन् ।


‘एक सय १७ रोपनी क्षेत्रफलमा खुर्सानी नेपालकै नमूना हुनुपर्छ’, भट्ट भन्छन् ‘तर मेरो खेती अनुसार वडा, पालिका, प्रदेश, ज्ञान केन्द्र, संघिय सरकार कहिँकतैबाट अनुदान लिएको छैन ।’ बाँझोबारी जोत्न दुई वर्षअघि कृषि ज्ञान केन्द्रले केही अनुदान सहयोग गरेको र अन्यथा सबै ऋण लिएर काम गर्नुपर्दा र उत्पादन नहुँदा समस्या परेको उनले बताए ।


खुर्सानीको छेउछाउमा उनले फुल पनि लगाएका छन् । सयपत्री फूल लगाउँदा खुर्सानीमा किरा कम लागेको उनको अनुभव छ । साथै खाली जमिनको पनि उपयोग भएको र फूलबाट पनि केही आम्दानी लिन सकिने उनले बताए । खुर्सानीलाई किथिर्का र झुसिलकिराले भने सताउँछ । ‘साथ सहयोग मिल्यो भने खुर्सानीलाई यस क्षेत्रको पहिचान बनाउने योजनामा छु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्