
गोरखामा धान भित्र्याउने चटारो : ‘थ्रेसर’को प्रयोग बढ्दो
केशव गुरुङ
गोरखाका किसानलाई अहिले धान भित्र्याउने चटारो छ । खेतमा लहलह झुलेको धान भित्र्याउन बिहान देखि साँझसम्म किसान फाँटहरुमा देखिन्छन् ।
पहिलेभन्दा अहिले धान थन्काउन भने किसानहरुलाई सजिलो भएको छ । मानिसले झाँट्ने, मुठा पार्ने, कुन्यू लगाउने प्रचलन घट्दो छ । अहिले थ्रेसरको प्रयोगले एक छिनमै धेरै धान झार्न सकिन्छ । ठूला सबै जसो फाँटमा किसानले थ्रेसर प्रयोग गरेर धान थन्काउने गरेका छन् ।

गोरखामा एघार हजार नौ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । हरेक वर्ष केही न केही बढेको धानको उत्पादन यस वर्ष धान पाक्ने बेला हिउँदे झरी परेकाले उत्पादन केही घट्ने अनुमान कृषि ज्ञान केन्द्रको छ ।
किसानले अहिले पानी कम लाग्ने, चाँडै पाक्ने, धेरै फल्ने नयाँ प्रजातिका धान लगाएका छन् । अहिले गोरखामा राधा ४, गोरखानाथ, सावित्री, मकवानपुरे लगायतका धान धेरै देखिन्छ ।

गोरखाको दरौँदी, बुढीगण्डकी, मस्र्याङ्दी, खारखोला, भुसुण्डेखोला फाँट, चुक्तीखोलाफाँट, आसपासका फाँटमा धान खेती धेरै हुन्छ । टारीपफाँट, बोर्लाङफाँट, ज्यादुलफाँट, दर्वुङफाँट, सेराफाँट, खारखोलाफाँट लगायत स्थानमा धानखेली हुदै आएको छ ।
यो वर्ष वर्षात र हावाहुरीले ११९ हेक्टर क्षेत्रफलमा लगाइएको धानवाली नष्ट गरेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । स्थानीय तहहरुसँग लिएको प्रारम्भिक तथ्याङ्क अनुसार सात हेक्टर क्षेत्रफलको धान खेतीमा पूर्ण क्षति पुगेको र एक सय १२ हेक्टरमा आशिंक क्षति पुगेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए ।




