| सोमवार, कार्तिक २३, २०८३

गठबन्धन चुनावसम्म लम्ब्याउने सहमति भएको छैन : डा.भट्टराई


जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अहिलेको गठनबन्धनलाई आसन्न चुनावसम्म लम्ब्याउने कुनै सहमति नभएको बताएका छन् ।

कांग्रेस, माओवादी, नेकपा(एस)का नेताहरुले यो गठनबन्धन चुनावसम्म जाने बताइरहँदा नेता भट्टराईले भने यसबारेमा कुनै सहमति नभएको बताएका हुन् ।


संगठन सुदृढीकरण तथा जनजागरण(सुज) अभियानअन्तर्गत १५ दिने कार्यक्रम लिएर गोरखा आएका उनले गठबन्धन भएमा राम्रो हुने तर्क गरेका छन् ।

‘सरकारमा रहेको पाँच दलीय गठबन्धन चुनाबसम्म लैजाने बिषयमा अहिलेसम्म सहमति भएको छैन’, उनले भने, ‘म यता आएपछि एकदुईदिन यता भएको भए मलाई थाहा छैन । तर गठबन्धन भइदिए हुन्थ्यो भन्नेचाहिँ मलाई पनि लागेको छ ।’


एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई ध्वंश पार्ने ढंगले विध्वंशात्मक दिशातिर लम्किरहेकाले उनलाई रोक्न अन्य पार्टीको तालमेल आवश्यक रहेको उनले बताए । ‘प्रतिगमनको हर्कत रोक्नका लागि पाँचै दल एकमत हुन नसके पनि जो जो सहमति हुन्छ ती दलहरु गठबन्धन गरेर प्रतिगमन शक्तिलाई टाउको उठाउन दिनु हुन्न’, उनले भने ।


अहिले स्थायी किसिमको संयन्त्र बनाएर गठबन्धनलानई अघि बढाउने प्रक्रिया भने अघि बढेको उनले बताए । ‘तर अहिले सम्म यही गठबन्धन चुनाव सम्म जाने भन्ने निर्णय छैन’, उनले भने ।


हाल मुलुकमा न्यायपालिकाको विवाद गिजोलिएर गएकाले व्यवस्थापिकाबाट समाधान खोज्नु पर्ने उनको तर्क छ । ‘राज्यलाई अपाङ्ग बनाएर लामो समय राख्नु हुँदैन । कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका एक एकअर्का बीच समस्या ग्रस्त हुँदा त्यसलाई समाधान गर्नको निम्ति राजनीतिक दलहरुले समाधानको पहल लिनुपर्छ’, उनले भने, ‘आफैँ भित्रबाट मात्रै हल भएन भने ब्यवस्थापिकाबाट समाधान गर्नुपर्छ, जो न्यायपालिका र कार्यपालिकाभन्दा माथि हुन्छ त्यसले चाँही आवश्यक पहल गर्नुपर्छ ।’


‘सुज’ अभियान लिएर कात्तिक २२ गतेदेखि भट्टराई गोरखामा छन् । दुर्गम गाउँमा पैदल हिँडेर र तल्लो भेगमा गाडीमार्फत टोलटोलमा पुगेर उनी जनता भेटघाट गरिरहेका छन् । स्थानीय स्तरको समस्या, जनताको गुनासो सुन्ने, घरघरमा पुगेर सल्लाह लिने गरी अभियान संचालन गरेको डाक्टर भट्टराईले बताए ।


गाउँगाउँमा पुग्दा र जनतासँग भेट्दा, राजनीतिक दलप्रति बितृष्ण बढेको, बिकास निर्माणको काम स्तरीय नभएको, पूर्वाधारको ब्यवस्थित विकास नभएको, अधिकांश मावि तहका विद्यालयमा प्रावि र निमावि मात्रको दरबन्दी रहेको, शिक्षाको गुणस्तर बढ्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्