| सोमवार, कार्तिक २३, २०८३

‘तपाईले खोप लगाउनुभयो ?’ अभियान चलाउँदै गोरखा नगरपालिका


गोरखा नगरपालिकाले कोरोनाको खोप लगाउन बाँकी भएका १८ वर्ष उमेर माथिका सबैलाई तत्काल खोप लगाउन अनुरोध गरेको छ ।

नगरपालिकाभित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने सबैलाई नजिकको खोप केन्द्रमा सम्पर्क गरेर मंसीर २ गतेभित्र खोप लगाउन भनिएको हो ।


‘नगरभित्र करिब ३० हजार जनाले खोप लगाईसक्नु भएको छ’, स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले भने, ‘अहिले हामीले १३ हजार स्ट्रोजेनिका खोप कात्तिक २३ गतेदेखि लगाईरहेका छौँ ।’ नगरपालिकाभित्र बस्ने १८ वर्ष माथिका सबैलाई खोप पुग्ने उनले बताए ।

‘अहिले खोप केन्द्रहरुमा भिड पनि कम छ’, उनले भने, ‘हरेक वडामा खोप केन्द्र छ । जनप्रतिनिधि वा कर्मचारीसँग समन्वय गरेर लगाउन सकिन्छ ।’


परिचय खुल्ने कागजात लिएर खोप लगाउन जान पनि उनले अनुरोध गरेका छन् । ‘हरेक नागरिकले एक अर्कासँग भेट्दा तपाईले खोप लगाउनुभयो ? भनेर सोध्ने अभियान चलाउनुपर्ने भएको छ’, उनले भने, ‘हामीले कर्मचारी र जनप्रतिनिधिलाई पनि यो अभियान चलाउन भनेका छौँ ।’

कोरोना खोप लगाउन कोही पनि नछुटुन् भन्ने उद्देश्यले यो अभियान संचालन गर्न सबै नगरबासीमा पनि अपिल गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्