| सोमवार, कार्तिक २३, २०८३

नयाँ बहश : उत्तरी गोरखा छुट्टै जिल्ला

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अहिले उत्तरी गोरखामा छन् । संगठन सुदृढीकरण तथा जनजागरण अभियान लिएर एकसाताअघि घ्याल्चोकबाट गोरखा प्रवेश गरेका भट्टराई गत बिहिबार माछाखोला पुगे । शुक्रबार लाप्राक, शनिबार बारपाक हुदै गाउँ अभियानमा छन् ।


उत्तरी गोरखा जाँदा उनले एउटा नयाँ बिषय जनतामाझ छरेका छन्, ‘उत्तरी गोरखालाई अलग्गै जिल्ला बनाउनु पर्छ’ भनेर । उत्तरी गोरखाको विकासका लागि उनले तीन बिकल्प दिएका छन् । सकेसम्म छुट्टै जिल्ला बनाउनु पर्छ, नसके स्वायत्त क्षेत्र बनाउनु पर्छ, त्यो पनि नसके विशेष क्षेत्र बनाउनु पर्छ भन्ने उनको जोड छ ।


बिहिबार माछाखोलाको कार्यक्रममा जसपाका धार्चे गाउँ पार्टी अध्यक्ष विशु गुरुङ र चुमनुब्री गाउँ पार्टी अध्यक्ष गणेश कार्कीले उत्तरी गोरखा अहिलेसम्म पनि बिसौँ सताव्दीतिर रहेकाले विकासका लागि नयाँ विकल्पको जरुरी परेको बताएका थिए । लार्के जिल्ला घोषणा गर्नुपर्ने भनेर पञ्चायत कालमा नै पहल भए पनि तल्लो भेगका बासिन्दाले विभिन्न जालझेल गरेपछि सो पहल रद्ध भएको प्रसंग कोट्याउँदै गणेश कार्कीले सो पहललाई अब सार्थक बनाउनु पर्ने धारणा राखेका थिए ।


कुनै पनि क्षेत्र विकास गर्न केन्द्रमा पहुँच भएका त्यहीँको जनप्रतिनिधि हुनुपर्ने धारणा उनको थियो । स्थानीयको सो आवाजपछि भट्टराईले तीन बिकल्प पेश गरेका हुन् ।


नेपालको संविधानमा कुनै विशेष समुदायको बसोबास रहेको ठाउँलाई विशेष क्षेत्र घोषणा गर्न पाइने भन्ने व्यवस्था छ ।
जनसंख्याका हिसाबले धार्चे र चुमनुब्रीलाई अलग्गै जिल्ला बनाउनु उचित कि अनुचित भन्ने फरक तर्क, व्याख्या, विश्लेषण हुनसक्ला । तर संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि पनि नपुग्ने अति दुर्गम क्षेत्रमा यदि त्यहीँकै सांसद, मन्त्री भए भने सो क्षेत्रको विकास गर्न पक्कै सजिलो हुने निश्चित हो ।

प्रतिक्रिया दिनुहोस्