
संभव नेपालले आरुघाटका २० बिपन्न परिवारलाई घर बनाईदिने
नेपाली कांग्रेसका महासमिति सदस्य प्रेम खत्रीले आफ्नो गृहगाउँपालिकामा २० वटा घरबनाइदिने भएका छन् । उनले स्थापना गरेको संभव नेपाल नामक गैरसरकारी संस्था मार्फत आरुघाट गाउँपालिकाका बिपन्न परिवारलाई घर बनाईदिन लागेका हुन् ।
बाढी, पहिरो, भुकम्प जस्ता बिभिन्न प्रकोपमा परेर जोखिम मोलेर गुजारा गर्दै आएका परिवारलाई घर बनाईदिन लागेको संभव नेपालका संस्थापक अध्यक्ष खत्रीले बताए ।
‘घर भुकम्प प्रतिरोधी हुनेछ, एउटा घरको लागि १४ लाख २० हजारमा टेण्डर भएको छ’ उनले भने ‘कसको घर बनाउने भन्ने छनौट गाउँपालिकाले गरेको छ ।’
शुक्रवार गाउँपालिका र संभव नेपाल बिच २० वटा घर बनाउने सम्झौता भएको छ भने लाभग्राही सँग पनि संस्थाले सम्झौता गरेको उक्त कार्यक्रममा ब्यवस्थापक उत्तम अधिकारीले बताए । खत्रीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाल र संभव नेपालका अध्यक्ष प्रेम खत्रीले संयुक्त रुपमा नयाँ बन्ने घरको शुक्रवार शिलान्यास गरेका छन् ।
सिलान्यासपछि गाउँपालिका अध्यक्ष दाहालले प्रकोप पिडित परिवारको पहिचान गरेर घर निर्माणको सिफारिस गरिएको बताए ।
परियोजना नै २० परिवारको घर बनाउने भएकाले धेरैलाई समेट्न नसकिएको र टड्कारो घर आवश्यक परेकालाई पहिलो प्राथमिकतामा राखिएको उनले बताए ।
घर तीनवटा कोठा र शौचालय सहितको बन्नेछ । इन्टरलक ब्रिक प्रयोग गरेर घर बनाईने हुँदा भुकम्प प्रतिरोधी हुने इन्जिनियर मुकेश अधिकारीले बताए ।
एक वर्ष भित्र सबै घर तयार हुने उनले बताए । शुक्रवार घर शिलान्यास कार्यक्रममा गाउँपालिका उपप्रमुख कल्पना नेपाली, बिभिन्न वडाका अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।




