
सुज अभियानमा डाक्टर भट्टराई माछाखोलामा, स्थानीयद्वारा विशेष क्षेत्र माग
संगठन सुदृढीकरण तथा जनजागरण(सुज) अभियानको क्रममा पुगेका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई माछाखोला पुगेका छन् । बिहिबार माछाखोला पुगेका उनीसंग स्थानीय नेता कार्यकर्ताले धार्चे र चुमनुब्रीलाई विशेष क्षेत्र घोषणा गर्नुपर्ने माग राखेका थिए ।
‘भौगोलिक विकटतालाई मध्यनजगर गरी धार्चे र चुमनुब्रीलाई समेटी एउटा प्रतिनिधिसभाको क्षेत्र र दुईवटा प्रदेशसभाको क्षेत्र घोषणा हुनुपर्छ’, जसपाका चुमनुब्री गाउँपालिका कमिटीका अध्यक्ष गणेश कार्कीले मन्तव्यको क्रममा भने, ‘त्यस्तै चुमनुब्री र धार्चेलाई यहाँका बासिन्दाको बहुलतालाई मध्यनजर गरी विशेषक्षेत्र घोषणा गर्नुपर्छ ।’ विकासका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने स्थानीय जनप्रतिनिधि नै चाहिन्छ भन्दै उनले त्यसका लागि पहल गरिदिन माग गरे ।
सो पार्टीका धार्चे गाउँपालिका कमिटीका अध्यक्ष विश्व गुरुङले पनि विशेष क्षेत्र घोषणाका लागि पहल गरिदिन माग गरेका थिए ।
कार्यक्रममा बोल्दै नेता भट्टराईले आफूले यसबारेमा आवाज उठाएको तर सुनुवाइ नभएको बताए । अझै स्थानीय स्तरबाट निरन्तर आवाज उठिरहेमा आफूले पनि केन्द्रस्तरमा आवाज उठाउने आश्वासन दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका जलस्रोत उर्जा तथा खानेपानी मन्त्री हरिशरण आचार्यले पनि मन्तव्य ब्यक्त गरेका थिए ।




