| सोमवार, कार्तिक २३, २०८३

बिसे नगर्चीको इतिहास बुझ्न झापाका पत्रकारहरु गोरखामा

पृथ्वीनारायण शाहलाई नेपाली एकीकरणको रणनीतिक सन्देश दिने बिसे नगर्चीको इतिहास बुझ्न झापाका पत्रकारहरु गोरखा आईपुगेका छन् । गोरखा फाउण्डेसन झापाको समन्वयमा मंगलवार बेलुकी गोरखा आएका पत्रकारहरुले बुधबार दिनभरको समय बिसे नगर्चीको अध्ययनमा खर्चिएका थिए ।


बुधबार बिहान गोरखा नगरपालिकाका मेयर, उपमेयर, गोरखाका पत्रकारहरु, बिसे नगर्चीको सन्तति, गोरखा दरबारका पुजारी र अन्य स्थानीयसँग उनीहरुले भेटघाट गरेका थिए ।


गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भेटघाटका क्रममा बिसे नगर्ची नेपाल एकीकरणमा पृथ्वीनारायण शाहलाई सल्लाह दिने प्रमुख ब्यक्ति भएकाले उनको पनि उत्तिकै सम्मान र चर्चा हुनुपर्ने धारणा राखेका थिए ।

‘जति हुनुपर्ने थियो त्यति बिसे नगर्चीको बारेमा भएको छैन, हामीले पनि केही गर्न सक्यौँ, सकेनौँ’, झापाका पत्रकारहरुसँग उनले भने ‘नगरपालिकाको सहयोगमा गोनपा ६ गितारडाँडामा सालिक निर्माण भएको छ, पार्क बन्दैछ ।’ गोरखा नगरपालिकाले बिसे नगर्चीको सम्मान र इतिहास संरक्षणमा काम गर्दै आएको उनले बताए ।

साथै मेयर पन्तले भिमसेन थापा, गोरखनाथ, पृथ्वीनारायण शाह जस्ता बिभुतिको स्मरण र इतिहास जोगाउन नगरपालिकाले काम गर्दै आएको बताए ।


उपमेयर बिनाकुमारी श्रेष्ठले बिसे नगर्ची गोरखाको मात्र नभएर देशकै इतिहास भएकाले सबैले संरक्षण र प्रवद्र्धनमा सहयोग गर्नुपर्ने बताइन् । ‘गोरखाको भएकाले हाम्रो बढि दायित्व हो’, उनले भनिन् ।


कार्यक्रममा बिसे नगर्चीको सन्तति बताउने तिलकुमारी परियारले बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई नेपाल एकिकरको बेला एक रुपैयाँ दिएर अर्थ संकलन अभियान सुरु गरेकाले अहिले भएको अर्ध कदको नभई पैसा दिइरहेको शालिक भएको भए राम्रो हुने बताईन् । साथै उनले अढाइसय वर्षअघिको इतिहासको हुनुपर्ने जति सम्मान र संरक्षण नभएको बताईन ।


शालिका निर्माण समितिका सचिव सोम अच्छामीले बिसे नगर्चीको पहिचानका लागि समिति निर्माण गरेर योजनाबद्ध रुपमा काम गरिरहेको बताए । ‘स्थानीय तहबाट बाहेक अन्यत्रबाट सहयोग नहुँदा जति गर्नुपर्ने त्यति काम गर्न सकेका छैनौँ’ उनले भने ।


गोरखा फाउण्डेशन झापाका अध्यक्ष बिरबहादुर दर्नालले बिसे नगर्ची एउटा दलित परिवारमा जन्मिएर नेपाल एकीकरणमा गरेको योगदानको स्मरण र चर्चा अहिले आवश्यक रहेकाले यो अभियान थालिएको बताए । साथै उनले झापामा रहेर बिसे नगर्चीको बारेमा प्रचार प्रसार गर्ने, उनको इतिहास खोज्ने काम सुरु गरेको बताए ।

‘बिसे नगर्ची र पृथ्वीनारायण शाहको बारेमा भावी पुस्ताले पनि थाहा पाउँछन्’ उनले भने, ‘राम्रो काम गर्दा स्मरण गर्ने रहेछन् भनेर राम्रो काम गर्नलाई पनि नयाँ पुस्तालाई प्रेरणा मिल्नेछ ।’ फाउण्डेशनले आउँदो पुस महिनामा बिसे नगर्ची राष्ट्रिय समर्पण सम्मान कार्यक्रम आयोजना गर्ने जनाएको छ गर्दैछ । सोही कार्यक्रममा सम्मानित गर्ने ब्यक्तिहरुको पहिचान र बिसे नगर्चीको इतिहास बारे शोधखोज गर्न झापादेखि पत्रकार सहित गोरखा फाउण्डेसनको टोली गोरखा आएको उनले बताए ।


टोलीलाई पत्रकार महासंघ गोरखाले स्वागत गरेको थियो । पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले झापादेखि आएको टिमका सदस्यहरुलाई कार्यालयमा खादा ओढाएर स्वागत गरेका हुन् । पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहनकाजीसहित १७ जना पत्रकार र गोरखा फाउण्डेसन झापाका अध्यक्ष बिरबहादुर दर्नाल सहितको टोलीसँग पत्रकारहरुले अन्तरक्रिया गरेका थिए । आगामी दिनमा गोरखा र झापाका पत्रकार बीच सम्बन्ध थप प्रगाढ बनाउने, बिसे नगर्चीलाई राष्ट्रिय बिभूतिको रुपमा प्रचार प्रसार गर्न समन्वय गर्ने विषयमा पनि छलफल भएको थियो ।


बिसे नगर्चीले नेपाल एकीकरण सुरु गर्नुअघि आर्थिक संकटले अलमलिएका पृथ्वीनारायण शाहलाई बाटो देखाएको इतिहास छ । बाईसे चौबिसे राज्यको कसरी एकीकरण गर्ने भन्ने बिषयमा बिसे नगर्चीले आपूm सँग भएको एक रुपैयाँ झिकेर पृथ्वीनारायण शाहलाई दिँदै गोरखामा रहेका १२ हजार घरबाट एक÷एक रुपैयाँ संकलन गर्न सुझाब दिए । बिसे नगर्चीको सुझाब अनुसार शाहले नेपाल एकीकरण गरेको इतिहासमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्