
झापा र गोरखा दुवै प्रधानमन्त्रीको जिल्ला हो, तर…
मोहन काजी
…झापाबाट भैरहवासम्म सिधा विमानसेवा सुरु हुँदै थियो । हामी पनि त्यसमा सहभागी हुदै थियौँ । त्यो अवसर पनि छोड्यौँ । आज छठ पर्व, हाम्रो झापामा भव्यताका साथ सम्पन्न हुँदैछ । त्यो पनि छोड्यौँ । इलामको एउटा कार्यक्रममा निमन्त्रणा थियो, त्यो पनि छाडेर हामीलाई गोरखाको माया ममताले तान्यो र आयौँ ।
सानैमा कखरा पढेदेखि पढेको गोरखा, नेपालको इतिहास पढ्दा होस् वा राजाको इतिहास पढ्दा होस् वा विश्व इतिहासमा गौरवताका साथ नाम लिइएको गोरखा । भर्खरको सन्दर्भको कुरा गर्दा भूकम्पको केन्द्रविन्दू गोरखा जसरी पनि पुग्नु पर्छ भनेर हामी गोरखा आयौँ ।
हाम्रो भ्रमणले विशेष महत्व राख्छ । किनभने हामी ऐतिहासिक पुरुष विसे नगर्चीको इतिहास र बर्तमान उत्खनन गर्न गोरखा आउँदै थियौँ । जसले नेपाल एकीकरण गर्न सबैभन्दा पहिले पृथ्वीनारायण शाहलाई आर्थिक अनुदान प्रदान गरे, जसले पृथ्वीनारायण जस्तो लौह पुरुषलाई अर्थ संकलनको रणनीति सिकाए, जसले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको हरकदममा साथ दिए, उनकै बारेमा अध्ययन गर्न गोरखा आउँदै थियौँ ।
हामीलाई ‘गोरखा’ नामसित गौरव छ । गोरखाको नाम लिन पाउँदा हामी गौरवान्वित हुन्छौँ त्यसैले हामीले गोरखा फाउण्डेशन नामको संस्था संञ्चालन गरेका छौँ । हामीले गोरखापोष्ट नामकको अनलाइन सञ्चालन गरेका छौँ । गोरखा टेलरिङ सञ्चालन गरेका छौँ । गोरखाको झल्को दिने तयारी राष्टिूय पोशाक उत्पादन र निर्यात गर्ने गरेका छौँ । अब छिट्टै ‘हाइप्रोफाइल’का लागि गोरखा टोपी पनि उत्पादन गर्दैछौँ । हाम्रो छिमेकी भूमिलाई गोरखा ल्याण्ड बनाउनु पर्छ भनेर त लामो समयदेखि आन्दोलन भइरहेको छ ।
गोरखाको नामलाई हामीले यसरी ब्राण्डिङ गरिरहेका छौँ ।
हामीले पूर्वका ऐतिहासिक पुरुष फाल्गुनानन्दको बारेमा यति धेरै बिषय उठान ग¥यौँ, यति धेरै उजागर ग¥यौँ कि सरकारले उनलाई राष्टिूय विभूति घोषणा गरेरै छाड्यो । विसे नगर्ची पनि उत्तिकै महत्वपूर्ण व्यक्तित्व हुन् । उनको परिचय र महत्वको बिषय पनि यसरी नै उजागर हुनुपर्छ, उनलाई राष्ट्रिय विभूति बनाउन पनि सँधै सम्बन्धित निकायलाई झक्झक्याइरहनु पर्छ भन्ने मान्यता राखेर हामी गोरखा आएका हौँ ।
हामीलाई झापा जिल्लाका सबै राजनीतिक पार्टीका नेताले शुभकामनासहित विदाइ गर्नुभएको थियो ।
आँवुखैरेनीबाट उँभो लागेपछि अँध्यारो भइसकेको थियो । हामीले सोच्यौँ, गोरखा जाने बाटो चिल्लो होला तर देख्न सकिएन ।
हामीले त्यस्तो किन सोचेका थियौँ भने हाम्रो झापा पनि पूर्व प्रधानमन्त्रीको जिल्ला हो, गोरखा पनि पूर्व प्रधानमन्त्रीको जिल्ला हो । हाम्रो जिल्लामा जताततै पक्की सडक छ । सडक पनि यति ठूला छन्, यति स्तरीय छन् कि नेपालमा पनि यस्तो सडक छ र ? भन्ने आभास हुन्छ । छ लेनको एशियन हाइवेले झापा जोडेको छ । यूरोपियन स्टाण्डर्डको सडक छ । छ लेनको मोटरेबल पुल बनेको छ । देख्दाखेरि हाम्रो देशमा पनि यस्तो विकास हुन्छ र ? जस्तो लाग्छ ।
देशकै सबैभन्दा अग्लो टावर हाम्रो झापामा बन्दै छ । झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल भनेर सञ्चालनमा छ । यो अस्पताल नेपालकै सबैभन्दा अत्याधुनिक प्रविधियुक्त र सबैभन्दा ठूलो क्यान्सर अस्पताल हो ।
पूर्वप्रधानमन्त्रीको जिल्ला भएकाले त्यस्तै अपेक्षा हामीले गोरखामा पनि गरेका थियौँ । विहान देख्दा थाहा भयो, हामीले सोचेको गलत रहेछ ।
भलै गोरखा पहाडी जिल्ला हो, सानो जिल्ला छ । पत्रकार महासंघमा थोरै सदस्यता संख्या होलान् । तर लक्ष्मीप्रसाद देवकोटाले ‘के नेपाल सानो छ ?’ भने झैँ आकार र संख्याको हिसाब गरेर हुदैन । गोरखा ठूलो छ ।
हाम्रो झापामा पत्रकारको संख्या दुईसय ५० जनाभन्दा धेरै छ । आठ वटा दैनिक पत्रिका छन् । तीनवटा टेलिभिजन च्यानल छन् । रेडियो १८ वटा छन् । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेण्टर जे जे भने पनि जज्जबको मेलमिलाप छ । एकतावद्ध छौँ ।
पत्रकार महासंघको दुईवटा भवन छ । थप अर्को भवन बनाउँदैछौँ । सहरैपिच्छे प्रेस क्लव छन् । १५ वटा स्थानीय तह छन् । सबैमा प्रेस क्लव छन् । पालिकाले पनि पत्रकार हाम्रै अभिन्न अंग हुन् भन्ने ठान्दछन् ।
सबै सहरमा र पालिकामा प्रेस क्लवका आ(आफ्नै भवन बनेका बन्यै छन् ।
हाम्रो जिल्लाको प्रसंसा हामीले कति गरौँ । अब तपाईँहरु हाम्रो जिल्ला भ्रमणमा आउनुस् र आफ्नै आँखाले हेर्नुस् ।
तपाईँको र हाम्रो दुवै जिल्लामा देश हाँकेका नेता छन् । तर यहाँ के भयो ? समीक्षा गर्नु जरुरी छ ।
(पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहनकाजीको मन्तव्यको सम्पादित अंश)




