नीजि क्षेत्रले फोहर उठाउने अभ्यास फलदायी बनोस्
सरकार र सरकारी निकायप्रति वितृष्णा जगाउने उद्देश्यले यो उल्लेख गरिएको होइन, यद्यपि नेपालमा सरकारी निकाय भन्दा नीजि निकायले प्रभावकारी काम गरिरहेका छन् ।
उद्योग कलकारखानाकै उदाहरण हेरौँ, विद्यालय नै किन नहेरौँ, व्यापारिक प्रतिष्ठानहरु नै हेरौँ, सरकारी भन्दा नीजिहरु फस्टाएका छन् ।
सरकारी किन धरासायी हुन्छन्, नीजि किन फस्टाउँछन् ?
गहन अध्ययनको विषय हो ।यही सन्दर्भमा गोरखामा पहिलो पटक गोरखा बजारभित्र नीजि क्षेत्रले फोहर व्यवस्थापनको आरम्भ गरेको छ । यसअघि गोरखा नगरपालिकाले संकलन र बिसर्जन गरिरहेको फोहर अब नीजि कम्पनीले गर्न सुरु गरेको छ ।
गोरखा नगरपालिकासित सम्झौता गरी अब ‘क्लिन गोरखा प्रालि’ले बजारको फोहर उठाउने छ र व्यवस्थापन गर्नेछ । फोहर व्यवस्थापन गरेबापत सो प्रालिले घरधनीसित कर लिनेछ । लिएको करबाट निश्चित प्रतिशत नगरपालिकालाई तिर्नेछ ।
यसो गर्दा नगरबासीले फोहर करबापत तुलनात्मक रुपमा बढि नै शुल्क तिर्नुपर्नेछ । बढि कर तिरेपछि गोरखा बजार यसअघि भन्दा बढि नै सफा सुग्घर हुनेछ भन्ने विश्वास पक्कै लिन सकिन्छ । यसअघि भन्दा छिटो छिटो फोहर उठ्नेछ भन्ने विश्वास लिन सकिन्छ ।
यदि यसअघिको जस्तै हुने हो भने नगरबासीले बढि शुल्क किन तिर्ने ?
क्लिन गोरखा प्रालिले अब सरसफाइ करबापत एकसय रुपैयाँदेखि दुईहजार रुपैयाँसम्म लिनेछ । यो रेट नगरपालिकासित समन्वय गरी निर्धारण भएको हो । अर्थात नगरपालिकाले उठाउने लक्ष्य राखेर पनि उठाउन नसकेको करको दर हो ।
अब नीजि कम्पनीले सो बमोजिमको कर र फोहर उठाउनेछ ।
पहिलो अभ्यास हो । यो अभ्यास कत्तिको उत्पादक बन्नेछ वा प्रत्युत्पादक बन्नेछ हेर्न बाँकी नै छ । यो अभ्यासले गोरखा बजार साँच्चै स्वच्छ, सफा, हराभरा बनोस् र यो अभ्यास दीगो बनिरहोस् ।




