| सोमवार, कार्तिक २३, २०८३

सरकारी तथा गैरसरकारी संस्थाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न पुँजीगत खर्च गर्न कमजोर, दोष कोभिडलाई

जिल्लाका सबै सरकारी र गैरसरकारी संस्थाको बार्षिक कार्यक्रमहरुको प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आइतबार १० र १७ वटा सरकारी तथा पाँचवटा गैरसरकारी संस्थाले दुई दिने गोष्ठीमा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।


जिल्ला समन्वय समिति गोरखाको आयोजनामा सम्पन्न गोष्ठीमा स्थानीय, प्रदेश र संघीय सरकार अन्तर्गतका २७ र ५ वटा गैरसरकारी संस्थाहरुले सञ्चालन गरेका बार्षिक कार्यक्रमहरुको समीक्षा गरिएको जिससका तुलसी धितालले जानकारी दिए ।


गोष्ठी प्रस्तुत भएका सबै कार्यालयको कार्यप्रगतिको विश्लेषण गर्दा पुँजीगत खर्च निराशाजनक पाइएको धितालले बताए । ‘प्राय सबै कार्यालयको चालु खर्चतर्फ ७० प्रतिशतभन्दा माथि भएको छ तर पुँजीगत तर्फको खर्च करिब ३३ देखि ५० प्रतिशतसम्म मात्र खर्च भएको देखियो’, उनले भने, ‘यो तथ्यांक हेर्दा सबै कार्यालयको खर्च गर्ने क्षमता कमी देखियो ।

दोष भने सबैले कोरोनालाई नै दिएका थिए ।’ साथै रचनात्मक योजना बनाई कार्यान्वयन गरेको नपाइएको उनले बताए । राजस्व संकलन प्रभावकारी नभएको, बहुसंख्यक नेपाली प्रभावित हुने कृषि तथा पशु क्षेत्रमा कार्यक्रम कार्यान्वयन कमजोर देखिएको उनले बताए ।
समीक्षामा धारणा राख्ने कार्यालयका प्रतिनिधिहरुले प्रदेश र संघका कार्यक्रम आउँदा ढिलो गरी आउँदा कार्यान्वयन गर्न नसकिएको गुनासो गरेका थिए ।

त्यस्तै संघ, प्रदेश र स्थानीय सरकार बीच आपसी समन्वय कमजोर भएको, जनशक्ति नभएको गुनासो गरेका थिए ।
त्यस्तै समापन कार्यक्रममा बोल्ने बक्ताहरुले उपभोक्ता समितिले कामको जिम्मा लिएर ठेकेदारलाई हस्तान्तरण गर्ने गरेको, सार्वजनिक खरिद प्रक्रिया अव्यवहारिक भएको, ठेकेदारले धोका दिने गरेको बताएका थिए । साथै उनीहरुले अनुगमनमा कडाइ गर्न जिल्ला समन्वय समितिलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्