| सोमवार, कार्तिक २३, २०८३

कानुनमा २० वर्षमा बिहेबारी, ब्यबहारमा १८ मै सुत्केरी

नरहरि सापकोटा : ‘बिहेवारी २० वर्ष पारि’ ऐन कानूनमा बालबिवाहलाई दण्डनीय गरेपछि जनजिब्रोमा यो झुण्डिएको छ । कानुनले २० वर्षअघि बिहे गर्न बर्जित गरेकाले उमेर नपुग्दै बिहे गरेका बेहुला, बेहुली, परिवारका सदस्यले कतिपय ठाउँमा कानुनी कारवाही पनि भोगेका छन् ।


गोरखाको दुर्गम गाउँहरुमा अहिले पनि २० वर्ष नपुग्दै बिहे होईन बच्चा जन्माउने किशोरी थुप्रै भेटिन्छन् ।
दुईवटा नगर र ९ वटा गाउँपालिका रहेको गोरखाको सबै पालिकामा बर्थिङ सेन्टर छ । कतिपय पालिकामा पाँचदेखि सात ठाउँसम्म पनि बर्थिङ सेन्टर छ । सबै बर्थिङ सेन्टरले सहज सेवा दिन सक्दैनन् ।स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको खण्डमा सरकारले दिने प्रोत्साहन बापतको पैसा र पोषण पाउने आशाले पनि स्वास्थ्य संस्था आउनेहरु छन् ।


गाउँका बर्थिङ सेन्टरमा सुत्केरी हुन जाने क्रम बढेसँगै घरमै जोखिम मोलेर बस्ने प्रवृत्ति घटेको छ तर सुन्य भएको छैन । बर्थिङ सेन्टरमा दक्ष जनशक्ति नहुँदा प्रशव ब्यथाले च्यापेकाहरु ठूला अस्पताल धाउन बाध्य छन् भने कतिपय उमेर नपुगेकाहरु समाज, स्वास्थ्यकर्मीको डरले, सानै उमेरमा सुत्केरी भएको लाजले घरैमा बच्चा जन्माइरहेका छन् ।

१८ वर्षीय शान्ति तामाङले असोज २२ गते भच्चेक स्वास्थ्य चौकीमा छोरी जन्माईन् । गर्भवती भएपछि नियमित चार पटक स्वास्थ्य जाँच गराउनुपर्ने तालिका भने उनले पूरा गरिनन् । अजिरकोट गाउँपालिका २ की नमुना लामाले १७ वर्षको उमेरमा गत साउन २० गते छोरा जन्माईन् । छोराको तौल २३ सय ग्राम मात्र थियो । औसतमा यो कम हो । उनले पनि स्वास्थ्य नियमित जाँच गराईनन् ।

सोही ठाउँकी सुशिला गुरुङले पनि १७ वर्षको उमेरमा तीन हजार ग्राम तौलको बच्चा जन्माइन् । अजिरकोट ४ की धनमाया मगरले १७ वर्षको उमेरमा साउन ४ गते बच्चा जन्माईन् । सुत्केरी ब्याथाले च्यापेपछि उनी बर्थिङ सेन्टर पुगेकी थिईन् ।
यो बिवरण गोरखाको अजिरकोट गाउँपालिकाको हो । स्वास्थ्य संस्थामा सुत्केरी हुन आएकाहरुको बिवरणमा बिहे गर्ने उमेर नहुँदै सुत्केरी भएकाहरु धेरै देखिन्छन् ।

आर्थिक वर्ष २०७७÷७८ मा २८ जना सुत्केरी भएको भच्चेक स्वास्थ्य चौकीमा ७ जना २० वर्ष मुनिका छन् । ‘१६ देखि २० वर्षका यो वर्ष मात्रै होईन गत वर्षमा पनि थिए, केही घटेको भने छ’ भच्चेक स्वास्थ्य चौकीका प्रमुख ठाकुर भट्टले भने ।
१६ वर्षका दुई जना, १७ वर्षका एक जना, १८ वर्षका तीन जना, १९ वर्षका एक जनाले बच्चा जन्माएको रेकर्ड स्वास्थ्य चौकीमा छ ।

सोही पालिकाको बालुवा बर्थिङ सेन्टरमा १३ जना सुत्केरी भए । यीमध्ये २० वर्ष मुनिका पाँच जना छन् । १६ वर्षको एक जना, १७ को एक, १८ को एक र १९ वर्षको दुई जना सुत्केरी भए ।
आर्थिक वर्ष २०७८÷०७९ सुरु भएपछि साउनदेखि असोजसम्म १५ जना सुत्केरी भएको भच्चेक स्वास्थ्य चौकीमा तीन जना २० वर्ष मुनिका र तीनजना २० वर्ष मात्रै टेकेका छन् । १७ वर्षको दुई जना र १८ वर्षको एक जना छन् । बालुवा स्वास्थ्य चौकीमा पाँच जना मध्ये एक जना १७ वर्षकी युवती सुत्केरी भएकी छिन् ।


यी दुई स्वास्थ्य संस्थाको तथ्याङ्क हेर्दा पाँच जनामा एक जना २० वर्ष मुनिका युवती सुत्केरी गराउन स्वास्थ्य संस्था पुग्ने गरेका छन् । २० वर्ष भन्दा कम उमेरकाले जन्माएको बच्चाको तौल उमेर पुगेका महिलाहरुले जन्म दिएको शिशुको भन्दा बढि देखिन्छ । २० वर्ष र त्यो भन्दा मुनिका आमाले जन्म दिएको शिशुको तौल कम छ ।

केहीको तीन हजार पुगेपनि अधिकांसको २५ सय ग्राम हाराहारी छ । २२ देखि २९ वर्षको उमेरका आमाले जन्म दिएको शिशुको तौल तीन हजार भन्दा थोरै बिरलै छ । आमा वा बच्चाको स्वास्थ्यमा दिर्घ समस्या भएमा त्यसको प्रभाव देखिने र अन्यथा उमेर पुगेकी आमाले जन्माएको शिशुको तौलमा मिल्दोजुल्दो र स्वस्थ रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी बताउँछन् ।


२०७५ मा ४० जना मध्ये १३ जना २० वर्ष भित्रै सुत्केरी भएका छन् । २०७६ मा स्वास्थ्य चौकीमा प्रशुती सेवा लिएका ४६ जनामध्ये १८ जना २० वर्ष उमेर भित्रका छन् ।

आर्थिक वर्ष जम्मा सुत्केरी २० वर्ष मुनिका
२०७५/७६ ४० जना १३ जना
७६/७७ ४६ जना १८ जना
७७/७८ २८ जना ७ जना
७८ साउन यता १५ जना ७ जना

स्रोत : भच्चेक स्वास्थ्य चौकी

चेतनास्तरमा कमी

अजिरकोट गाउँपालिका उच्च पहाडी भेगमा पर्छ । त्यहाँ जनजाति, दलित समुदायको बाहुल्यता छ । चेतनास्तरको कमी, धार्मिक मूल्य मान्यता र संस्कारका कारण अहिले पनि कम उमेरमै बिहेबारी गर्ने, गर्भवती हुने, बच्चा जन्माउने क्रम रोकिएको छैन ।
‘चेतना स्तर पहिले भन्दा अहिले धेरै सुधार भएको छ तर अझै पनि २० प्रतिशत महिला घरमै सुत्केरी हुन्छन् भन्ने अनुमान हाम्रो छ । स्वास्थ्यमा समस्या नआउँदासम्म महिलाहरु स्वास्थ्य संस्था आउनै नखोज्नै अनुभव महिला स्वास्थ्य स्वयमसेविका पनि सुनाउँछन् ।


स्वास्थ्य संस्थामा सुत्केरी गराउन वा गर्भ जाँच गराउन आउँदा उनीहरुलाई स्वास्थ्यकर्मीले २० वर्ष उमेर नपुग्दासम्म बिहे गर्न नहुने र बच्चा जन्माउन नहुने भन्ने सिकाउने समय घर्किसकेको हुने स्वास्थ्य शाखा प्रमुख दवाडी बताउँछन् । ‘कम उमेरमा बच्चा जन्माउँदा धेरै बच्चा जन्माउन सक्ने, आमा र बच्चाको स्वास्थ्य तन्दुरुस्ती नहुने खतरा हुन्छ’ दवाडीले भने । पोषण तत्वको अभावमा शिशु र कम उमेरमा सुत्केरी हुँदा आमाको स्वास्थ्यमा पनि दिर्घकालीन रोग देखिन सक्ने उनले बताए ।
अहिले गाउँपालिकाले हरेक वडामा स्वास्थ्य संस्था खडा गरेको छ ।

स्वास्थ्य जोखिम कमगर्न ‘माईतिको कोसेली’

गर्भ बसेपछि नियमित चेकजाँच नगर्दा आमा र शिशुको स्वास्थ्यमा असर पुग्छ । यो समस्या न्यूनिकरण गर्न अजिरकोट गाउँपालिकाले तीन वर्ष देखि सुत्केरी महिलाहरुलाई ‘माईतीको कोसेली’ उपहार दिँदै आएको छ । तर यसका लागि भने नियमित गर्भ जाँच अनिवार्य गराउनुपर्छ ।
गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेलाई यातायात खर्च दुई हजार, प्रोत्साहन रकम आठ सय सहित चार पटक गर्भजाँच गराउनेलाई करिब चार हजार रुपैयाँ बराबरको कोशेली दिने गरेको उपाध्यक्ष चन्द्रमाया गुरुङले बताईन् । कोशेलीमा एक सय ५० वटा अण्डा, चना, सरसफाईका लागि नङकट, साबुन, ढाकाको पछ्यौरा दिईनेछ ।

मौसम अनुसार सागसब्जीको बिउ पनि दिने गरिएको र गर्भाअवस्था र सुत्केरी अवस्थामा हरियो सागसब्जी आफैँ लगाएर खान प्रोत्साहन गर्ने गरिएको छ ।
यसले केही हदसम्म स्वास्थ्य संस्था गएपछि केही पाइन्छ, जाँच गर्न पैसा लाग्दैन भन्ने आभास महिलाहरुमा हुन थालेको उनले बताईन् । ‘यसअघि त स्वास्थ्य चौकी जाउ भन्दा पैसा लाग्छ कि भन्ने डरले नजानेहरु पनि थिए’ उनले भनिन् ।
महिला जनप्रतिनिधि मार्फत पनि गाउँगाउँमा कम उमेरमा बिहेवारी नगर्न परिवारका सदस्यलाई अनुरोध गर्ने, संचार माध्यमबाट जानकारी गराउने गरेको र अहिले केही न्यूनिकरण भएको उनले बताईन् ।

कम उमेरका कारण आमा बच्चा दुबैलाई खतरा
कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुबैमा स्वास्थ्य समस्या आउन सक्छ । महिलामा १८ देखि ३० वर्षभित्रको उमेरमा प्रजनन क्षमता उच्च हुन्छ । यसर्थ, यो उमेर बच्चा जन्माउनका लागि उपयुक्त हुन्छ । उमेर बढ्दै जाँदा प्रजनन क्षमतामा पनि ह्रास आउन थाल्छ । ३० वर्ष पुगेपछि कम अन्डा निष्काशन हुने भएकाले गर्भ रहने क्षमता घट्दै जाने गरेको हो । कतिपय अवस्थामा स्वास्थ्य पनि खराब भएको हुन्छ ।


सामान्यतया महिलामा प्रजनन क्षमताको विकास महिनावारी सुरु भएदेखि नै हुन्छ । २२ देखि २५ वर्ष महिलालाई बच्चा जन्माउनका लागि उपयुक्त उमेर हो । यो क्रम ३० वर्षसम्म राम्रो मानिन्छ । तर दुई बच्चा बिचको अन्तराल तीन वर्ष राख्दा उपयुक्त हुने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्