| सोमवार, कार्तिक २३, २०८३

न्याक, बिही र छेकम्पारको टावर कात्तिकभित्र सञ्चालन हुने

चुमनुब्री गाउँपालिका ३ न्याकमा बिगत छ बर्षअघिदेखि सुरु गरिएको मोबाइल टावर निर्माणको काम कात्तिक महिनाभित्र सम्पन्न हुने भएको छ ।


देशभर फोरजी टावर निर्माणको जिम्मेवारी पाएको चाइना कम सर्भिस(सिसिएस)ले न्याक, बिही र छेकम्पारको टावरको निर्माण कार्य सकेर कात्तिकभित्रै सेवा सञ्चालन गर्ने जनाएको हो ।


दुर्गमका ती टावरका सामग्री आजभोलिदेखि नै ढुवानी गर्ने तयारी भइरहेको कम्पनीका अमृतराज पँगेनीले जानकारी दिए ।
टावर निर्माणको बाँकी काम सक्नका लागि हेलिकोप्टरबाट उपकरण ढुवानीको काम तत्काल सुरु गर्ने नेपाल टेलिकमका सुजित मल्लले जानकारी दिए ।

‘भोलिदेखि नै हामी सामान ढुवानी सुरु गर्दैछौँ’, मल्लले भने, ‘यहाँबाट स्थलमार्ग हुँदै उपकरणहरु आर्खेतमा राख्छौँ । त्यहाँबाट हेलिकोप्टरमार्फत ढुवानी गर्छौँ ।’ एउटा टावर तिहारअघि नै तयार गर्ने र बाँकी दुईवटा टावर तिहार लगत्तै तयार गर्ने उनले बताए ।
तीनवटै टावर निर्माणको काम चिनियाँ कम्पनी चाइना कम सर्भिस(सिसिएस)ले गरेको हो । विभिन्न बहानाबाजी गर्दै सो निर्माण कम्पनीले लामो समयसम्म काम अलपत्र पारेको थियो ।


रोकिएको काम अब यथासीघ्र सुचारु गर्ने सिसिएसले जनाएको छ । ‘तीनवटै टावरको काम हामीले जिम्मा लिएको हो । दुर्गमको काम जतिसक्दो छिटो गर्नुपर्ने थियो, यसअघि गर्न सकिएन’, सो कम्पनीका अमृतराज पँगेनीले भने, ‘अब चाँडै नै प्रोसेस गर्दैछौँ । काम गर्ने टिम बनाएका छौँ । तिहार अघि नै सामान झार्छौँ । दुई हप्ताभित्रै बन्छ ।’


तीनवटै ठाउँमा टावर खडा भइसकेको छ । ‘अब फोरजीको उपकरण जडान गर्न बाँकी छ । रेडियो लिंक, कनेक्शन उपकरण सेटअप गर्नुपर्नेछ’, उनले भने, ‘तोकिएको म्याद पनि डिसेम्बरसम्म हो । जसरी पनि कात्तिकभित्र काम सम्पन्न हुन्छ ।’ त्यसपछि साविक ल्हो, बिही, प्रोक, सिर्दिबास र छेकम्पारका विभिन्न गाउँबस्तीमा नमस्तेको मोबाइल चल्नेछ भने अत्याधुनिक फोरजी इन्टरनेट सेवा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्