
बेमौसमी वर्षातले गोरखामा दुई करोड रुपैयाँ बरावरको धानबालीमा क्षति
एकसाता अघिको बेमौसमी वर्षा र हावाहुरीले गोरखामा दुई करोड रुपैयाँ बराबरको धानबाली क्षति भएको छ । असोज ३१ गतेदेखि लगातार चारदिन भएको वर्षातले छ सय ७६ मेट्रिकटन धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।
‘एक करोड ९६ लाख १६ हजार चार सय ७० रुपैयाँ बरावरको धानबालीमा क्षति भएको प्रारम्भिक बिवरण आएको छ’, ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले भने । तीन हजार पाँच सय ६९ हेक्टर क्षेत्रफल खेतमा उत्पादन हुने अनुमान गरिएको धानखेतीमा क्षति पुगेको उनले बताए ।
सबैभन्दा धेरै गोरखा नगरपालिका क्षेत्रमा ११ सय ४० हेक्टर क्षेत्रफल खेतमा उत्पादन हुने अनुमान गरिएको दुईसय १६ मेट्रिकटन धानबाली नष्ट भएको अनुमान ज्ञानकेन्द्रको छ । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाको पाँचसय हेक्टर क्षेत्रफल खेतमा उत्पादन हुने अनुमान गरिएको ९५ मेट्रिक टन, गण्डकी गाउँपालिकाको चार सय ७० हेक्टर क्षेत्रफल खेतमा उत्पादन हुने अनुमान गरिएको ८९ मेट्रिकटन धानखेती नष्ट भएको ज्ञानकेन्द्रले अनुमान गरेको छ ।
त्यस्तै पालुङटार नगरपालिकाको चारसय २७ हेक्टर क्षेत्रफल खेतमा उत्पादन हुने अनुमान गरिएको ८१ मेट्रिक टन, शहीदलखन गाउँपालिकाको दुई सय ८५ हेक्टर क्षेत्रफल खेतमा उत्पादन हुने अनुमान गरिएकोे ५४ मेट्रिकटन र भीमसेन थापा गाउँपालिकाको एक सय हेक्टर क्षेत्रफल खेतमा उत्पादन हुने अनुमान गरिएको १९ मेट्रिक टन धानमा क्षति पुगेको ज्ञानकेन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रले स्थानीय तहको कृषि शाखाबाट लिएको तथ्याङ्कअनुसार सिरानचोक गाउँपालिकामा एकसय ४० हेक्टर क्षेत्रफल खेतमा उत्पादन हुने अनुमान गरिएको २६ मेट्रिकटन, आरुघाट गाउँपालिकाको दुई सय ५७ हेक्टर क्षेत्रफल खेतमा उत्पादन हुने अनुमान गरिएको ४७ मेट्रिकटन धान नष्ट भएको छ ।
गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा धान खेती नहुने भएकाले क्षतिको बिवरण छैन ।
‘यो बिवरण हामीले प्रदेश कृषि निर्देशनालयमा पठाएका छौँ’ उनले भने ‘निर्देशनालयले क्षतिपूर्तिको ब्यवस्था गर्न सक्छ ।’




