| सोमवार, कार्तिक २३, २०८३

छिनछिनमा बत्ती किन जान्छ हाकिमसाव् ?

गोरखामा अहिले छिनछिनमा बत्ती आउजाउ गरिरहन्छ । बर्सात, हावाहुरीमा मात्र होईन बिना कारण पनि छिनछिनमा बत्ती जाने समस्यामा उपभोक्ता आजित छन् । कसैले सामाजिक सञ्जालमा स्टाटस लेखेर बिरोध जनाएका छन् त कसैले चोकचोकका चिया पसलमा विद्युत प्राधिकरणलाई गाली गरिरहेका छन् ।

गोरखाको विद्युत प्राधिकरणको सेवाप्रति अहिले सत प्रतिशत ग्राहक असन्तुष्त छन् । यसै सन्दर्भमा दरौँदी दैनिकका लागि नरहरि सापकोटाले विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेसँग जिज्ञासा राखेका छन् ।


छिनछिनमा बिजुली जानुको कारण के हो ?
यो समस्या अहिलेको मात्र होईन । अरु बेलामा पनि समस्या छ । बेमौसमी वर्षात, हावाहुरीको कारण समस्या धेरै देखिएको हो । घाम लाग्न सुरु भएपछि केही सजिलो भएको छ । अहिले चाँही मेसिनरी खराबी हो । सिस्टम बिग्रिएको छ । पहिले एक पटक बनाएको हो अहिले फेरी समस्या आएको छ ।


तपाई प्रमुख भएर आउनुअघि त यस्तो समस्या थिएन नि ?
व्यक्ति को आयो, को आएन होइन । हाम्रा तीनवटा फिडर छन् । नयाँ बजार, खोप्लाङ र महेन्द्रज्योति फिडर । सप्लाई सिस्टममा समस्या आएपछि अहिले नयाँ बजार र खोप्लाङ फिडरको कम्बाईन छ । एउटैबाट सप्लाई हुन्छ । महेन्द्रज्योति फिडरबाट ग्रामीण भेगमा सप्लाई भएको छ । नयाँ बजार फिडरबाट बजार क्षेत्रमा सप्लाई हुन्छ । एकै ठाउँबाट हुँदा गाउँमा समस्या भयो भने वा कतै समस्या हुँदा पनि बजार क्षेत्रमा बिजुली बत्ती जान्छ । त्यसैले अहिले बजार क्षेत्रमा पनि धेरै समस्या देखिएको हो ।


तपाईले अह्राएको कर्मचारीले मान्दैनन, अटेरी गर्छन् रे ?
होईन, हामी थोरै कर्मचारीले पनि सतप्रतिशत सेवा दिईरहेका छौँ । भएका कर्मचारीलाई ब्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेका छौँ । यहाँ बितरण केन्द्र स्थापना हुँदा ८७ जना कर्मचारीको दरबन्दी थियो । अहिले पनि दरबन्दी त्यही छ । ग्राहक पाँच÷सात हजार हुँदा र अहिले ४५ हजार पाँच सय हुँदा पनि दरबन्दी त्यही छ । तर दरबन्दीमा स्थायी कर्मचारी पुरा छैनन् ।


किन समयमै मर्मत हुँदैन, ग्रामिण भेगमा त बिग्रिएको लामो समयसम्म बन्दैनन नि ?
धेरै ठाउँ दुर्गम छन् । कहाँ बिग्रियो भन्ने पत्ता लगाउन नै समय लाग्छ । बिग्रिएको ठाउँमा तत्काल बनाउन प्राविधिक समस्या पनि छ । कहाँ बिग्रियो भन्ने पहिचान गर्ने एड्भान्स सिस्टम छैन । कतिपय बेला बाहिरबाट प्राविधिक ल्याएर मर्मत गर्नुपर्छ । समान्य मर्मत गर्ने मात्र जनशक्ति हामीसँग छ । कहाँ कतिबेला समस्या आउँछ भन्ने थाहा पनि हुँदैन । कहाँ बिग्रिएको छ वा समस्या आउन सक्छ भन्ने बारे ग्राहकले पनि सुचना(जानकारी) दिनुभयो भने सहज हुने थियो ।


अहिले जस्तो छिनछिनमा बत्ती जाने समस्या कहिले समाधान हुन्छ त ?
छ/सात वर्ष अघिदेखिको सिस्टम अहिले पनि छ । अहिलेको सिस्टममा समस्या आयो । पाँच/छ महिनामा नयाँ सिस्टम अपग्रेड गर्ने तयारीमा छौँ । त्यो भन्दा अघि पनि सोमवार अहिलेको समस्या समाधान गर्ने गरी प्राविधिकको एउटा टोली आउँदैछ । त्यसपछि केही सुधार होला । यस अघि पनि मर्मत गरेको हो । फेरि बिग्रिएकाले यो कत्तिको दिगो हुन्छ भन्ने हो । तर सिस्टम अपग्रेड गरेपछि चाँही सहज हुन्छ । त्यसका लागि पाँच, छ महिना लाग्छ । मेकानिकल जनशक्ति कम हुँदा पनि समस्या छ ।

प्रतिक्रिया दिनुहोस्