| सोमवार, कार्तिक २३, २०८३

आधारभूत अस्पताल बनाउने पुरानो सरकारको कार्यक्रम ओझेलमा


सरकारले देशका सबै पालिकामा आधारभूत अस्पताल बनाउने लक्ष्यका साथ एकैदिन ३९६ वटा अस्पताल भवन सिलान्यास ग¥यो । पालिकाबाटै आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले आर्थिक बर्ष २०७७, ०७८ मा बिनियोजित बजेट तथा कार्यक्रमले एकबर्षसम्म गति लिन नसकेको हो ।


जनसंख्याका आधारमा सरकारले ५, १० र १५ शैयासम्मका अस्पताल निर्माण गर्ने गरी सात करोड, १० करोड र १८ करोडसम्म बजेट बिनियोजन गरेको थियो ।


गतबर्षको मंसीर १५ गते गोरखाका चारवटा पालिकाले भवन सिलान्यास गरेका थिए । तर पालिकाहरुले सो कार्यक्रमलाई प्राथमिकतामा नराख्दा अस्पताल निर्माणको काम ओझेलमा परेको हो ।


११ वटा पालिका रहेको गोरखाका कुनैले जग्गा जुटाउन सकेका छैनन्, कुनैले डिपिआर तयार गरेका छैनन् ।


‘अस्पतालको भवन कहाँ बनाउने भनेर हामीले अहिलेसम्म जग्गा पाउन सकेका छैनौँ’, आरुघाट गाउँपालिकाका प्रमुख पूर्ण दाहाल भन्छन्, ‘जग्गा खोज्न समिति बनाएका छौँ तर धेरै प्रयास गर्दा पनि जग्गा जुटाउन सकेको छैन ।’


चुमनुब्री गाउँपालिकाले पनि भवन सिलान्यास गरेको एक बर्ष बितेको छ तर अहिलेसम्म डिपिआरसमेत तयार नगरेको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ बताउँछिन् । ‘पुरानो हेल्थपोष्टसंगै जग पूजा त गरियो, त्यसपछि केही काम अघि बढेको छैन’, उनले भनिन् ।
भवन सिलान्यास गरेको एकबर्ष बितिसक्दा पनि भीमसेन थापा, सहीदलखन र गण्डकी गाउँपालिकाले अहिलेसम्म डिपिआर स्वीकृत गरेका छैनन् । ‘डिपिआर त तयार गरेको हो तर मापदण्डभन्दा बाहिर भएछ त्यसैले स्वीकृत भएको छैन’, भीमसेन थापा गाउँपालिकाका प्रमुख विजयराज वाग्लेले भने, ‘अश्राङ हेल्थपोष्टनेर बनाउने भनेर सिलान्यास त भएको हो ।’


शहीदलखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले बल्ल डिपिआर तयार गरेर स्वीकृतिका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाएको जनाएका छन् । मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रसँगै भवन निर्माण गर्नेगरी डिपिआर तयार भएको तर स्वीकृतिका लागि पठाइएको वा नपठाइएको आफू जानकार नरहेको गण्डकी गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख बेलिमाया श्रेष्ठ बताउँछिन् ।


अजीरकोट, बारपाक सुलीकोट र सिरानचोक गाउँपालिकाले भने बल्लतल्ल टेण्डर गरेको जनाएका छन् । जौबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालमा स्तरोन्नति गर्ने गरी भवन निर्माणको टेण्डर गरिएको सिरानचोक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जनाएका छन् ।


त्यस्तै सौरपानी र स्वाँराको माझमा पर्ने गरी हुँडीखोलाफाँटमा आधारभूत अस्पताल बनाउन टेण्डर गरिएको बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जनाएका छन् । अजीरकोटले पनि भच्चेकस्थित पुरानो हेल्थपोष्ट आसपास अस्पताल भवनको सिलान्यास गरेको छ । ‘टेण्डर प्रक्रिया सुरु भएको छ’, स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले भने ।


धार्चे गाउँपालिकाले भने तुलनात्मक रुपमा काम अघि बढाएको छ । वडा नं. ३ को खोर्लाबेशीमा अस्पताल भवनको डिपिसी गरेको गाउँपालिका प्रमुख सन्तोष गुरुङले जनाए ।


गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा भने आधारभूत अस्पतालको कार्यक्रम परेको छैन । दुवै नगरपालिकामा यसअघि नै अस्पताल रहेकाले आधारभूत अस्पतालको कार्यक्रम नपरेको पालिकाहरुले जनाएका छन् ।


भवन निर्माणका लागि सरकारले आधारभूत अस्पताल भवन निर्माण सम्बन्धी निर्देशिका २०७७ र स्वास्थ्य भवन पूर्वाधार डिजाइन तथा निर्माण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालमा स्तरोन्नति गर्ने सो निर्देशिकामा उल्लेख छ । साथै इमर्जेन्सी, प्रयोगशाला, बर्थिङसेण्टर, अपरेशन थिएटरलगायतका एकाइ बनाउने सो निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्