
वर्षात र हावाहुरीले गोरखामा ११९ हेक्टर क्षेत्रफलमा लगाइएको धान नष्ट
आइतबारदेखिको लगातार वर्सातसँगैको हावाहुरीले गोरखाको एक ११९ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा क्षति पुगेको छ । स्थानीय तहहरुसँग लिएको प्रारम्भिक तथ्याङ्क अनुसार सात हेक्टर क्षेत्रफलको धान खेतीमा पूर्ण क्षति पुगेको र एक सय १२ हेक्टरमा आशिंक क्षति पुगेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए ।
गोरखाका किसानले तीन हेक्टर भित्र्याईसकेका थिए । जिल्लाभर ११ हजार नौ सय हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ । ‘प्राम्भिक बिवरणमा दुई प्रतिशत सम्म क्षति हुन सक्छ’ ज्ञान केन्द्रका प्रमुख अधिकारीले भने ‘कुल उत्पादनमा भने गत वर्ष भन्दा घट्दैन ।’
‘कृषि बिकास निर्देशनालयबाट हामीलाई जिल्लाभरि धन खेतीमा कति क्षति भयो भन्ने बिवरण मागिएको छ’, कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले भने ।
गत वर्ष बाढी पहिरोबाट क्षति ब्यहोरेका किसानलाई राहत बितरण गरिएको थियो । क्षतिको बिवरण माग भएकाले राहत आउन सक्ने हुँदा किसानलाई आफ्नो क्षति भएको बिवरण पालिका वा कृषि ज्ञान केन्द्रको शाखामा उपलब्ध गराउन ज्ञान केन्द्रले अनुरोध गरेको छ ।




