
सेनाले लार्के सडकको १६ किलो मिटर ट्रयाक खोल्यो
दरौँदी ः गोरखाको लार्के हुँदै तिब्बत जोड्ने सडक निर्माणको कामलाई नेपाली सेनाले तिब्रता दिएको छ । अहिले नेपाली सेनाको निर्माण दलले तिब्बत सिमामा जोड्ने बेनिघाट(लार्के सडकको तातोपानी क्षेत्रमा टूयाक खोल्ने काम गरिरहेको छ । यस अघि अति नै गाह्रो भनिएको एक्ले भीर र लापुभीर छिचोलेर सेना यहाँ आइपुगेको हो ।
एक्लेभीर, लापुभीरमा सेनाले बम विस्फोट गरेर टूयाक खोलेको हो । सेनाले दुईवटा अस्थायी क्याम्प नै खडा गरेर सडक निर्माणमा खटिएको सेनाका मेजर निशान्त क्षेत्रीले जानकारी दिए ।
‘हामीले १६ किलोमिटरमा सडकको टूयाक खोलीसकेका छौँ’ उनले भने ‘यस अघि ठुला पहाड भएका डाँडाहरु छिचोलेर जानुपर्ने भएकोले केही ढिला भएको थियो । अब कामले थप गति लिन्छ ।’ सेनाले अहिले टूयाक खोलेको क्षेत्रमा सडक सात मिटर फराकिलो बनेको छ । सो सडकको गत वर्षको बैशाख ११ गते प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शिलान्यास गरेका थिए । धेरै बिस्फोट गर्नुपर्ने देखेर नेपाल सरकारले नेपाली सेनालाई नै सो सडक निर्माणको जिम्मा दिएको हो ।
सो सडक खण्ड हुँदै हिमालपारी भएका गोरखाका चुमनुब्री गाउँपालिका र धार्चेगाउँपालिकाको गाउँहरुमा जानआउन सहज हुनेछ । अहिले उत्तरी क्षेत्रमा यातायातको साधनको रुपमा खच्चड र चौँरी मात्र छन् । तिब्बत सँग सिधा यातायात सेवा हुने बताइएको सो सडकको १२१ किलोमिटर सडक नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको छ । बेनीघाट देखि हावा डाँडाको सडक ६२ किलोमिटर सडक भने यस अघि नै सडक डिभिजन कार्यालयले निर्माण गरिसकेको छ । नेपाली सेनाले अहिले लापुभीरमा सडक खन्नेकाम गरिरहेको भएपनि हावाडाँडा देखि तातोपानी सम्मको १६ किलो मिटर सडकको सर्भे समेत गरिसकेको छ । वेनीघाट(आरुघाट(लार्केभन्ज्याङ सडकको लम्बाई १८३ किलोमिटर छ । जसमध्ये सेनाले आरुघाट(लार्केभन्ज्याङ खण्डको १२१ किमि सडक निर्माण गर्ने जिम्मा पाएको छ । बेनीघाट(आरुघाट(हावाडाँडा खण्डको ६२ किलोमिटर सडक निर्माण भने सडक विभागले गरिरहेको छ ।




