
स्वीट्जल्याण्डको हाम्रो सहारादेखि गोरखाको हाम्रो सहारासम्म साइकल यात्रा
स्वीट्जल्याण्डकी नागरिक लरिसा जिम्मरम्यानले स्वीट्जल्याण्डदेखि गोरखासम्मको साइकल यात्रा सम्पन्न गरेकी छन् । हाम्रो सहारा फाउण्डेशन स्वीजल्याण्डकी संस्थापक लरिसाले त्यहाँस्थित हाम्रो सहारादेखि गोरखास्थित हाम्रो सहारासम्मको यात्रा छ महिना लगाएर सम्पन्न गरेकी हुन् ।
गत अप्रिल ५ देखि सुरु गरेको साइकलयात्रा छ महिनापछि शनिबार गोरखास्थित हाम्रो सहारा फाउण्डेशनको कार्यालयमा पुगेर सम्पन्न गरेकी हुन् ।
१२ वटा देशको साइकल यात्रा गरी १० दिनअघि काठमाडौँ आइपुगेको र पाँच दिनको क्वारेण्टाइन अवधि पूरा गरी गोरखा आइपुगेको उनले बताइन् ।

‘स्वीट्जल्याण्ड, इटली, स्लोभेनिया, क्रोयशिया, मोन्टेनेग्रो, अल्बेनिया, मेसोडोनिया, बुल्गेरिया, टर्की, जर्जिया, उज्बेगिस्तान, किर्गिस्तानसम्म साइकलमै आएको हुँ’, गोरखामा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘किर्गिस्तानबाट भारत र चीन दुवै देश प्रवेश गर्न प्रतिवन्ध लगाइएकाले काठमाडौँसम्म प्लेनमा आएको हुँ । काठमाडौँबाट गोरखासम्म ग्रामीण रुट हुदै तीनदिने साइकल यात्रा गरेँ ।’
स्वीट्जल्याण्डमा स्थापित हाम्रो सहारा फाउण्डेशनले अनाथ बालबालिकालाई आश्रय दिने उद्देश्यले अर्थ संकलन गर्ने गर्छ । साइकल यात्राको क्रममा जुटेको आर्थिक सहयोग पनि बालबालिकाकै लागि खर्च गर्ने लरिसाले बताइन् ।




