
जेष्ठ नागरिक दिवस : ‘बुढो भएपछि त काम पनि पत्याउनै छाडे’
हिमालय बैँकको छेउमा छाताको ओतमुनि एउटा लुगा सिलाउने कल छ । त्यही छाताको ओत नै टिकाराम परियारको ‘पसल’ हो । त्यही पसलमा सँधै लुगा सिलाइरहेका भेटिन्छन् ८१ बर्षका टिकाराम परियार ।
आफु ९÷१० वर्षको हुदाँदेखि नै लुगा सिलाउन थालेको उनी बताउँछन् । गोरखा नगरपालिका वडा नं ६ दरबारमार्गमा बस्ने परियार सबेरै आउँछन्, बैँकछेउको घरबाट आफ्नो ‘सुजेरो’ निकाल्छन् र जे जसो कामहरु आउँछ गरिरन्छन् ।
यही छाताको ओतबाट नियाल्दा उनी पहिलेको गोरखा र अहिलेको गोरखामा धेरै फरक देख्छन् । बैँकरोडको जति पनि घरहरु बनेको थियो त्यो समयमा सबै सिस्नोघारी, पातीघारी, बनमासा घारी बाहेक केही थिएन । मरेको मान्छे राख्ने ठाउँ पनि यहि थियो ।
‘मलाई त्यो समयमा यहाँ जम्मा एक हजार पाँच सय रुपैयाँमा घडेरी किन भनेका थिए तर मैले किनिन यस्तो तर्साउने ठाउँमा घारीभा’को लिन्न भनेर लिइन । अहिले पन्ध्र लाख दिन्छु भनेपनि पाइन्न । त्यो समयमा पढ्न पाइएन, घाँस दाउरा काट्नतिर लागियो । अहिले अब अलिअलि भए पनि पढ्न पाएको भए जस्तो लाग्छ केही हुन्थ्यो कि जस्तो लाग्छ !’
केही सामान चाहिएमा चितवन हिँडेर जानु परेको उनी बताउँछन् । ‘गुन्दु्रक साँधेर मकै भुटेर खाजा लगिन्थ्यो झण्डै ३ दिन लाग्थ्यो चितवन पुग्न । तीनमाने भञ्ज्याङबाट कुरिनघाट तर्दै बाहे्रपानी भन्ने ठाउँ पुगिन्थ्यो । त्यहाँबाट धर्मथली, सेरवा, ढुङ््ग्रे गढी हुदै जुटपानी पुगिन्थ्यो । अहिले त विहान गयो भने दिउँसो नै फर्किन सकिन्छ ।
उनका ५ भाइ छोरा र एउटा छोरी सन्तान छन् । बुढेस काल लागेपनि उनले हातको काम छाडेका छैनन् । तर अचेलका मान्छे लुगा सिलाउन पनि बुढापाका छाडेर ठिटा, ठिटी नै खोज्ने भएकामा भने उनलाई गुनासो छ । ‘काम आउनै छाडिसक्यो, हामीलाई पत्याउन छाडिसके । बुढी बुढी मान्छेहरु पनि कुर्ता सुरवाल लगाएर हिड्न थाले चोलो, भोटो, दौरा सुरवाल हामी जस्ताले सिएको लाउन छाडे गाह्रो छ अहिले ।’ कहिले एक सय डेढसय रुपैयाँ हुन्छ दिनको कहिले त्यही पनि हुदैन भनी दुखेसो पोख्छन् उनी ।
‘कपडाहरु पनि सबै रेडिमेड आयो सिलाउन पनि अलि राम्रो टेलर्सहरुमा लग्छन हामीलाई त कसैले पत्याउन्नन् अचेल त ।’ ‘पहिले पहिले हात खाली हुन्थेन रातभरि मट्टितेल हालेर पुल्टी(पानस) बालेर भएनि काम सक्नुपर्ने अवस्था थियो त्यो समयमा बत्ति थिएन ।’ ‘तीन मोहोर, पाँच सुका, २ रुपैयाँमा चोलो, भोटो सिलाइयो अहिले एउटा चोले सिलाको मात्रा तीनसय भन्दा माथि लिन्छन्, जमानाले गर्दा खेरि के !’
‘वृद्धभत्ता बाह्रहजार खान्थे अहिले सोह्र हजार पुगेको छ अब आइतबार निकाल्न जानु पर्ला ! छोराहरुले पठाउछन्, अलिअलि आफूले पाएको सबै बुहारीलाई लगेर दिन्छ जे जे चाहिन्छ उनीहरु ल्याउछन् राख्छन् ।’ यो अहिलेको पेसाबाट दैनिक खाजा खर्च जसो मात्र टरेको उनी बताउँछन् ।




