
खाद्यान्न चरम अभाव भएको उत्तरी गोरखामा ९३ क्लिन्टल चामल ढुवानी
चिनियाँ नाकाबन्दी र बाढी पहिरोले अवरुद्ध पैदलमार्ग लामो समयसम्म सुचारु नहुँदा खाद्यान्न अभाव भएको उत्तरी गोरखाका लागि चामल ढुवानी गरिएको छ ।
चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुम्चेत र ७ छेकम्पारका लागि हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो ।
विपत व्यवस्थापन महाशाखाले हेलिकोप्टर ब्यबस्था गरेपछि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड गोरखाले मंगलवार र बुधवार ९३ क्लिन्टल चामल ढुवानी गरेको कम्पनीका गोरखा स्थित कार्यालयका सुचना अधिकारी शिब सुनारले बताए ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरले चुम्चेतका लागि ३० केजीको एक सय ५७ बोरा चामल ढुवानी गरिएको छ । छेकम्पारका लागि एक सय ९७ बोरा चामल लगिएको उनले बताए ।
हेलिकप्टरबाट ढुवानी गरिएको चामल स्थानीयले प्रतिबोरा एक हजार पाँच सय रुपैयाँमा खरिद गर्न सक्छन् । यसअघि पनि चुमनुब्री गाउँपालिकाको सिर्दिबासमा नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको थियो ।
तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिमा धानखेती हुँदैन । उच्च हिमाली क्षेत्र रहेकाले त्यहाँसम्म सडक सञ्जाल पनि पुगेको छैन । खच्चडबाट खाद्यान्न ढुवानी गर्ने पैदलमार्ग भत्किएपछि खाद्यान्न अभावको अबस्था सिर्जना भएको छ । छ सय घर रहेको चुम्चेत र छेकम्पारमा प्रतिघर एक बोरा पनि चामल नपुगेको गुनासो स्थानीयले गरेका छन् ।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले गोरखा सदरमुकाम, धार्चे गाउँपालिकाको माछाखोला र चुमनुब्रीको सिर्दिबास डिपोबाट चामल अनुदानमा बिक्री गर्दै आएको छ
। चुमनुब्रीका स्थानीय सिर्दिबाससम्म आएर चामल लैजान सक्ने अवस्था नरहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए । ‘बाटो खुलाउन हामीले पहल गरिरहेका छौँ’ उनले भने ।
धार्चे गाउँपालिकाको माछाखोला सम्म सडक जोडिएकाले कम्पनीको चामल बिक्री घटेको छ । ्




