
गोरखाको काङ्ग्रेस अधिवेशनमा देखिएका नौला दृश्यहरु(विश्लेषणात्मक टिप्पणी)

शिव उप्रेती :
अहिले गोरखा लगायतका २१ वटा हिमाली जिल्लाहरुमा कांग्रेसको चौधौँ अधिवेशन चलिरहेको छ । गत भदौको २७ गते वडाहरुको अधिवेशन सकियो । त्यसको ११ दिनपछि गत सात गते(शनिबार) नगर तथा गाउँ अधिवेशन सकिएको छ ।
मंगलबार प्रदेश निर्वाचन क्षेत्रस्तरीय समितिको अधिवेशन पनि सम्पन्न भइसकेको छ ।
कांग्रेसको यो अधिवेशनको दृश्य बिगतका भन्दा पृथक देखिएको छ ।
विशेषतः बिगतको भन्दा यसबर्षको अधिवेशनमा प्रतिष्पर्धा ज्यादै चर्को देखिएको छ । बिगतका कुनै बर्ष उम्मेद्वार पनि नपाएको, कुनै बर्ष जिल्लामा अधिवेशन गराउन पनि नसकेर राजधानीतिर गरिएको सम्झना ताजा छ । तर अहिले सबै पदमा आकांक्षीहरु यति धेरै छन् कि, सबै पदमा उम्मेद्वारको लर्को लामो छ । उम्मेद्वारहरुको उमेर समूह हेर्दा युवाहरुको संख्या धेरै देखिन्छ ।
व्यापार, व्यवसाय, रोजगार तथा स्वरोजगारको क्रममा सहर पसेका, विदेश बसेका कांग्रेसजनहरु यतिबेला जिल्ला, पालिका फर्केका छन् । राजनीति गर्नेले आफ्नो धरातल फर्कनै पर्ने बाध्यता परेको छ, किनभने केन्द्रमा राजनीति गर्नका लागि आफ्नो धरातलबाट नै उठ्नु पर्ने व्यवस्था छ ।
अझै यस अधिवेशनमा कांग्रेसले अपनाएको व्यवस्था उदाहरणीय यो अर्थमा छ कि, मतदाता नामावली गाउँमा भएकाले मात्र गाउँमा राजनीतिक पाइला टेक्न पाइने बाध्यकारी ब्यबस्था छ । आम निर्वाचनमा मतदाता नामावली सहरमा राख्ने, राजनीति गर्न मात्र गाउँमा फर्कनेलाई अहिले कांग्रेसले गतिलो झापड हानेको छ ।
मतदाता नामावली जहाँ छ, राजनीति पनि त्यहीँ गर्नुपर्ने बाध्यकारी ब्यबस्था भएपछि अब राजनीतिकर्मी गाउँसित राम्रैसित जोडिनु पर्ने भएको छ । यसले नेता गाउँलाई अविछिन्न रुपमा जोड्ने विश्वास गरिएको छ ।
भर्खरै सकिएको वडा, पालिकास्तर, प्रदेश क्षेत्रस्तरका अधिवेशन अध्ययन गर्दा छ वटा पालिकामा सर्वसम्मत समिति बन्न सफल भए भने पाँचवटा पालिकामा मतदानबाट समिति बनेका छन् ।
काङ्ग्रेस पार्टीभित्रको प्रतिस्पर्धाको यो अबस्थाले कटिबद्ध पुराना नेता कार्यकर्ताको जोश, जाँगर र नयाँ पुस्तामा जागेको राजनीतिक चेतको छनक देख्न सकिन्छ । त्यति मात्र नभै प्राय ज्येष्ठ रथीले मात्र हाँकिरहेको कांग्रेसमा यसपटक नयाँ जोश, जाँगर र सम्भावना बोकेका युवा सारथीको संख्या धेरै देखिएको छ ।
यसबर्षको अधिवेशनका गतिविधिलाई नजिकैबाट नियाल्दा, कांग्रेसको क्षेत्रीय प्रतिनिधि बन्न र महाधिवेशन प्रतिनिधिमा चर्को होड देखियो । ती पदहरुमा उम्मेद्वार बन्नेको संख्या पनि धेरै देखियो । तर प्रदेश प्रतिनिधिमा जान चाहनेको संख्या भने पातलो देखियो । यसले यो संकेत गर्छ कि, कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रस्तरीय समिति र प्रदेश समिति कम शक्तिशाली छ । त्यसैले त्यसमा जान नेता कार्यकर्ताको रुचि कम छ ।
यसबर्षको अधिवेशनमा अर्को अत्यन्तै रोचक पक्ष के देखियो भने, कांग्रेस अधिवेशनको चहलपहल आम निर्वाचन जस्तो देखियो । कांग्रेस नेता, कार्यकर्ताले त अधिवेशनलाई महोत्सवको रुपमा मनाउनु स्वभाविक छ, एमाले, माओवादी लगायतका अन्य पार्टीले पनि कांग्रेसको अधिवेशनलाई ज्यादै चासोका साथ हेरेको पाइयो ।
यसअघि कांग्रेसलाई विधिवत रुपमा प्रमुख दुश्मन पार्टी घोषणा गरेको माओवादीका नेता, कार्यकर्ताले पनि कांग्रेसका विभिन्न पदका आकांक्षी(उम्मेद्वार)लाई खुलेआम प्रचार प्रसार गरे । एमाले जसपा लगायतका फरक पार्टीका नेता कार्यकर्ताले पनि कांग्रेसका विभिन्न पदका आकांक्षीको प्रचार सामग्री आफ्नो फेसबुक वालमा राखेर प्रचार गरेको दृश्य देखियो । अन्य स्वतन्त्र देखिएकाहरुले पनि कांग्रेसका आकांक्षीहरुको तस्वीरसहित, सामाजिक सञ्जालमा प्रचार सामग्री पोष्ट गरी प्रचार प्रसार गरे ।
विभिन्न तहको समितिका पदमा विजयीहरुलाई सार्वजनिक रुपमै बधाइ, शुभकामना व्यक्त गरे । यस्तो दृश्य गोरखाका लागि अपूर्व हो ।
कांग्रेसको जारी विभिन्न तहको अधिवेशनलाई नियाल्दा गुट, उपगुटको गतिविधि पनि चर्चायोग्य बन्यो । केन्द्रका नेताको लाइन जिल्लास्तरमा देखिएन । देखियो त केवल जिल्लास्तरकै नेताबाट पैदा भएका गुट, उपगुट । केन्द्रका एउटै नेताकोमा जाने जिल्लातहका धेरै नेताले आ–आफ्नै गुट बनाएर उम्मेद्वार खडा गरे र कस्सिएर प्रचार प्रसार गर्न हिडेको देखियो । यसरी केन्द्रमा देख्दा एउटै नेता तर जिल्लामा देख्दा फरक–फरक धार, व्यवहार देखियो ।
अथवा प्रष्ट रुपमा भन्नुपर्दा गोरखामा पार्टी सभापति शेरबहादुर देउवा लाइनका तीन वटा फरक, फरक गुट देखियो । उनीहरुले आ–आफ्नै उम्मेद्वार, आ–आफ्नै मतदाता खडा गरेका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल लाइन, कोइराला लाइन र युवा नेता गगन थापा लाइन देखियो । केन्द्रमा कुनै पनि नेताको लाइन नभएकाहरुको समूह पनि गोरखामा देखियो ।
गोरखाका लागि यो नयाँ अभ्यास हो ।




