
कोभिडले थलिएको गोरखकाली ढाका उद्योगमा उत्पादन सुरु
आषिशकुमार भट्ट : कोरोनाका कारण लामो समय उत्पादन र ब्यापार ठप्प भएको गोरखकाली ढाका उद्योगले अहिले गती लिन थालेको छ ।
बजार खुलेसँगै र आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएसँगै उद्योगले उत्पादन बढाउन, तालिम संचालन गर्न थालेको छ ।
गोरखकाली हस्तकला उद्योग ५ जनाको स्वामित्वमा २०७६ जेठ ३० गतेबाट सञ्चालनमा आएको थियो । कोरोना महामारीका कारण योजना अनुसार काम गर्न नसकिएको शेयर सदस्य मध्येका एक रिता रेग्मीले बताईन ।
‘४०रुपैयाँको रुमालदेखी पैतिस हजार रुपैयाँको साडीसम्म बुन्न सकिन्छ,यो काम भनेको फुर्सदको समय पनि गर्न सकिने काम हो’ उद्योगले संचालन गरेको ढाका बुनाई तालिमका प्रशिक्षक मिनातुम्वा हाङ्फेले भनिन । यसको लागी कुनै महँगो मेसिनरीको आवश्यकता पर्दैन एक घना बाँसबाट पनि बनाउन सकिन्छ ।
लकडाउनले घरमै बस्नु परेको कारणले उद्योग धेरै समय बन्द रहँदा गर्दा महिला दिदिबहिनिहरुमा जोस जागर हराएको र पुर्नताजगी गर्न तालिममा सहयोग गरेको गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले बताईन ।
आफुले सिकेर अरुलाई पनि यस तर्फ ध्यान आकर्षित गर्ने तथा अरुलाई पनि सिकाउने हो भने मात्र यस तालिमले अर्थ राख्ने उनले बताईन ।
गोरखाकाली हस्तकला उद्योगद्वारा सञ्चालीत १५ दिने ढाका बुनाई तालिम सोमबार सम्पन्न भएको छ । भदौ २५ गतेबाट सुरु भएको सो तालिममा ढाकाबाट बनाइने विभिन्न कपडाहरु सिलाई एवं तान बुन्न सिकाइएको सेयर सदस्य तथा कार्यक्रमको अध्यक्ष रिता रेग्मीले बताइन् ।
प्रशिक्षक मिनातुम्वा हाङ्फेद्वारा दिइएको तालिममा सात जना सहभागी थिए । महिलाहरुलाई ब्यवशायीक बनाउन र केही मात्रामा भएपनि आयआर्जनको स्रोत देखाउन तालिमको व्यवस्था गरिएको रेग्मीले बताइन् ।
गोरखा नगरपालिकाले सो तालिमको लागी पाँच लाख बराबरको मेसिनरी सहयोग गरेको छ । चार वटा इलेक्ट्रिक सिलाई मेसिन, दुईवटा साडी बुन्ने तान र एउटा अप्रीन मेसिन सहयोग गरेको हो ।
गोरखकाली हस्तकला उद्योगकी सेयर सदस्य रिता रेग्मीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नगरपालिका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, अतिथि गोरखा नगरपालिका वडा नं ८ का अध्यक्ष कृष्णबहादुर खत्री, मिना गुरुङ लगायतको उपस्थिती थियो ।




