
छेकम्पार र चुम्चेतका लागि आज चामल ओसार्ने
बिगत लामो समयदेखि खाद्यान्न समस्याको मार खेपिरहेका गोरखाको छेकम्पार र चुम्चेतका बासिन्दाका लागि सोमबार(आज) हेलिकोप्टरबाट चामल ढुवानी हुने भएको छ ।
गृहमन्त्रालयको विपत व्यवस्थापन महाशाखाको सहयोगमा नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले छेकम्पार र चुम्चेतमा चामल ढुवानी हुन लागेको हो । सो हेलिकोप्टरले पाँच खेप चामल ढुवानी गरी चुम्चेतको चुम्लिङ र छेकम्पारको लारमा चामल पु¥याउने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
चामल भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढुवानी सहुलियत मुल्यमा उपलब्ध गराउने छ । ३० किलोग्राम चामलको प्रतिबोरा पन्द्रसय रुपैयाँका दरले गाउँलेलाई चामल उपलब्ध गराउने खाद्य व्यवस्था तथा ब्यापार कम्पनीका शिव सुनारले जानकारी दिए ।
कोरोना महामारी, बाढी पहिरोका कारण बिगत चार महिनादेखि खाद्यान्न ढुवानी हुन नसक्दा चुम्चेत र छेकम्पारमा खाद्यान्नको चरम अभाव सिर्जना भएको छ । सोमबार चामल मात्र ढुवानी भए पनि प्रति परिबार एकेक बोरा पनि वितरण गर्न अपुग हुनेछ । त्यहाँ अभाव रहेको तेल, नून, चिनी, दाल तथा अन्य दैनिक उपभोग्य सामग्री भने अझै ढुवानी हुन सकेको छैन ।




