
वर्षातले बिग्रिएका गोरखाको ग्रामिण सडक मर्मत सुरु भएन
वर्षातले बिग्रिएको गोरखाको ग्रामिण सडक मर्मतको कुनै सुरसार छैन । केहीदिन यता वर्षात कम भएपनि स्थानीय तह र सडक आयोजनाका कार्यालयले मुख्य बाटोहरु मर्मत नगर्दा यात्रुबाहक बस चलाउन नसकिएको गुनासो ब्यवशायीको छ ।
‘बारपाक, मैलुङ हुँदै क्यामुन्टार, बेनिघाट–आरुघाट, ताकुकोट, बोर्लाङ, नाम्जुङ, सौरपानी लगायत ठाउँमा बस चलाउन मुस्किल छ’ दरौँदी यातायात सेवा प्रालीका सदस्य अन्जनबाबु खत्रीले भने । अहिले गाडी चलेका आरुघाट, बालुवा, भच्चेक खण्डमा पनि जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
सार्वजनीक यातायात मात्र होईन मोटरसाईकल र निजी गाडीमा यात्रा गर्नेहरु पनि हिलाम्य सडकका कारण आजित भएका छन् । एक अर्को पालिका जोड्ने सडक टेण्डर भएको लामो समय सम्म निर्माण हुन सकेको छैन । गोरखादेखि नारेश्वर सडक निर्माण ब्यवशायीको हेलचेक्राईले अलपत्र छ । उक्त बाटो भएर हिड्नेहरुले सास्ती भोग्न बाध्य छन् । पूर्वाधार बिकास कार्यालय गोरखाले ठेक्का लगाएको उक्त सडकमा अहिले यात्रा गर्न सकिँदैन । कार्यालयले काम पुरा गराउन मात्र होईन समान्य मर्मत गराउन पनि दबाव दिन सकेको छैन ।

गोरखा सदरमुकामको बराह देखि ढुङ्गागाडे खण्डमा दिनहुँ सवारी साधन फस्ने गर्छ । उक्त बाटो भएर यात्रा गर्न मुस्किल छ । ‘सडकमा हिड्न नसक्ने छ, सँधै हिड्नुपर्नेले कती पिडा खप्नु ?’ उक्त बाटो भएर यात्रा गर्दै आएका साबित्री भट्टले भनिन् । पूर्वाधार बिकास कार्यालय अन्र्तगत निर्माण भईरहेको उक्त सडक समान्य मर्मत गर्न पनि ब्यवशायीले चासो दिएनन् ।
वर्षात र पहिरोले ग्रामिण सडक ठाउँठाउँमा भत्किएको छ । भिमसेन थापा गाउँपालिकाको झिंगटे देखि बोर्लाङ खण्ड बिजोग छ । आरुघाट गाउँपालिकाको आरुघाट सोती खण्डमा पनि ठाउँठाउँमा भत्किएको छ । सोतीदेखि धार्चे गाउँपालिकाको माछाखोला सम्म सडक अवरुद्ध छ ।
बारपाक सुलिकोटको ताकुकोट, सौरपानी, ताकुमाझ लाकुरीबोट क्षेत्रको ग्रामिण भेगमा पनि सडक वर्षात र पहिरोले भत्किएको छ ।
बालुवादेखि बारपाक र बारपाक देखि लाप्राक सडक खण्डमा सवारी चल्न मुस्किल छ । बालुवादेखि बारपाक साना सवारी चल्न थालेको छ भने लाप्राक जाने अवस्था नरहेको स्थानीय जितबहादुर घलेले बताए । एघारकिलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाले निर्माण कम्पनीलाई काम लगाउन नसक्दा बारपाक सडक अलपत्र छ ।

कालोपत्रे भईसक्नुपर्ने सडकमा अहिले यात्रुबाहक बस हिड्न मुस्किल छ । छेवेटार हुँदै पालुङटार जाने अन्नपूर्ण जंगलको सडकमा ठुलाठुला खाल्डा परेकाले आउाजउ गर्न मुस्किल छ । गण्डकी गाउँपालिकाको केन्द्र भुम्लिचोक, दर्बुङ, घ्याल्चोक लगायत ठाउँका कच्ची सडकमा ट्याक्टर मात्रै गुड्ने अवस्था छ । ‘विद्यालय जान आउन पनि मुस्किल छ, सडकमा खाल्डैखाल्डा छ, पानी जमेको छ’ ताङ्लिचोकका शिक्षक मदन पन्तले गुनासो गर्दै भने ।
स्थानीय तहहरुले वर्षात कम हुँदै जाँदा सडक मर्मत गर्ने गर्थे । भदौ अन्तिम सम्म अहिले भने मर्मत सुरु भएको छ । ठेक्का लागेका ठुला सडक आयोजना कार्यालयले निर्माण कम्पनीलाई मर्मत गर्न गराउने प्रचलन थियो । ‘आयोजना कार्यालयको सडक ठेकेदारले र अन्य शाखा सडक पालिकाहरुलाई मर्मत गर्न लगाउने निर्णय गरेका छौँ’ जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले भने ।
सोमवार जिल्ला समन्वय समितिको बैठकले चाडबाड नजिकिँदै गरेको र वर्षात पनि हटेकाले तत्काल गोरखाको ग्रामिण सडक मर्मत गर्न अनुरोध गर्ने निर्णय गरेकोसमन्वय प्रमुख गुरुङले बताए ।




