| सोमवार, कार्तिक २३, २०८३

मालपोतको कामकाजमा चरम ढिलाइ, बिचौलियाको रजगज

आशिषकुमार भट्ट : मालपोत कार्यालयमा हुने गरेको सम्पूर्ण कामकाजमा ढिलाइ भएकोप्रति सेवाग्राहीहरुले आपत्ति जनाउने गरेका छन् । सदरमुकाम होस अथवा टाढाका सबैले सास्ती भोगीरहनुपरेको छ । सदरमुकाम नजिक हुनेहरुको लागि त त्यति केही गाह्रो भएन तर टाढा टाढाबाट आउने सेवाग्राहीहरु भने चर्को मारमा पर्ने गरेका छन् ।


‘प्रविधिमैत्री’को बहानामा सेवाग्राहीलाई झन ढिलो सेवा दिने गरेको उनीहरुको गुनासो छ ।
घटना १. आरुघाट निवासी खुचबहादुर भन्छन्, ‘आजै बिहान आरुघाटबाट आएको ११ बजेदेखि काम घान हालेर बसेको साँढे दुई बजिसक्यो नाम बोला’को छैन । मान्छे सबै भीड गरेर बसेका छन् ।

रोक्काको लागि आएको घरमा सिकिस्त बिरामी छ । अर्को मान्छेलाई हेर्न राखेर आएको छु । जति सक्दो चाँडो सक्न पाए ३ बजेको गाडीमा घर जान पाइन्थ्योकी भन्ने मनमा छ ।’
२. आरुघाट निवासी हरिप्रसाद तिमल्सिना भन्छन्, ‘रोक्काको लागि विहान १० बजेदेखि लाइनमा बसेको १ बज्न लागिसक्यो, अझै पालो नै आएको छैन । कहिले यता जा भन्छ कहिले अर्कोतिर जा भन्छ ।

यो भएन त्यो भएन भन्दै अहिले मात्र होइन पहिला देखि नै यस्तै छ यहाँ । पहिला बरु रोक्का गर्नको लागि अल्लि सजिलो थियो । अहिले धेरै झन्झटिलो भाको रहेछ । यहाँको एउटा मान्छे(बिचौलिया) समाउनै पर्ने । आफैले केहि गर्छु भन्यो भने कागजपत्र यो भएन त्यो भएन भनेर फर्काइदिन्छन् ।’


३. भच्चेक निवासी पुर्नमान भन्छन्, ‘लालपुर्जा बनाउन बिहान साढे १० तिर आएको थिएँ, अहिलेसम्म काम भाको छैन । म ७० बर्षको बूढो मान्छे, हिडडुल गर्न गाह्रो छ । कहिले यता कोठामा जा, भन्छ कहिले उता कोठामा जा, भन्छ हैरान भइसक्यो ।’
४. कट्टेलडाँडा निवासी वृद्ध महिला भन्छिन्, ‘पछि आउनेको अगाडि काम भइसक्यो ।

चुप लाग्नेहरु बसी’राछन् । बोल्न सक्नेले बीच–बीचमा घुस्रिनेले पनि काम गरिरा’छन् । आफु चाँही हेरेको हेरै । कस्तो ठाम हो यो ? बोल्नेको पिठो बिक्ने, नबोल्नेको चामल नबिक्ने ? यस्तो पनि सरकारी अफिस हुन्छ ? चिनेको मान्छेहरु, लेखापढी लगाउनेहरुको मात्र चाडो काम हुदो रहेछ यहाँ । एउटा कोठाबाट अर्को कोठामा फाइल पुग्नको लागि आधा घण्टाभन्दा बढि लाग्छ । लालपूर्जा लिन यति गाह्रो छ ।


मालपोतको कामहरु सबैमा प्रयोग हुने निवेदन लेखन तथा विभिन्न फारामहरु भर्न सजिलोको लागि धेरैजसो सेवाग्राहीहरु लेखापढीको व्यवसायीको पछि लाग्ने गर्दछन् । अहिले गोरखाको मालपोत कार्यालय क्षेत्र वरिपरि ठूलो संख्यामा लेखापढि गर्ने व्यवसायीहरु देखिन्छन् । उनीहरुको काम अनुसारको, लेखाइ अनुसारको भन्दा पनि सेवाग्राहीको मुख हेरेर फरक–फरक दररेट छ ।


‘कुनै कुनै कागजपत्र नपुगेर यो काम हुन्न भनेर फिर्ता भएको कामहरु पनि लेखापढि गर्नेलाई अलि पैसा दिन सक्ने हो भने त्यो काम पनि बन्छ’ एक सेवाग्राहीले नाम नखुलाउने सर्तमा भने । मालपोतमा धेरै विचौलियाको रजगज भएको पनि उनी बताउँछन् ।

‘सेवाग्राहीहरु लाइनमा बसिरहेका हुन्छन् तर उनीहरु एक्कासी अगाडि आउँछन र आफ्नो फाइल बुझाएर यो गर्दिहाल्नू त भन्छन्’ उनले भने, ‘कुनै पनि कार्यालयमा यो व्यवस्था छैन, मालपोतमा मात्र किन बिचौलियाको रजगज चलेको हो ?’
यसै बारेमा कार्यालयका प्रमुख सूर्यप्रसाद पौडेलसँग सो बारे कुराकानी गर्दा उनी भन्छन्, ‘जहाँ त्यस्तो हुन्छ तत्कालै मलाई भन्नुहोस् अथवा पालो मिच्यो भनेर सबै मिलेर होहल्ला गर्दिनुहोस् ।

अहिले हामीले कार्यालयभित्र कार्यालयका कर्मचारी बाहेक अन्य कोहीलाई पनि भित्र छिर्न निषेधित गरिएको छ । तोक लगाउने तथा निवेदन हेर्ने लगायतका साना कामहरुको लागिचाहि आउने बित्तिकै गरिन्छ ।’ कर्मचारी अपुग भएको कारणले पनि यो समस्या आएको उनी बताउँछन् ।


‘२६ जनाको दरबन्दी रहेको कार्यालयमा जम्मा १५÷१६ जना भन्दा छैनन्, त्योमाथि दिनको कम्तिमा पनि १०० ओटा सेवा दिदै आइरहेका छौँ । एउटै मान्छे ६ ठाउँमा २÷२ चोटी जानुपर्छ त्यही भएर ढिलाइ भएको हो । काठमाडौँ चितवन पोखरा तथा अन्य टाढाका जिल्लाबाट गाडी रिजर्भ नै गरेर एक दिनमै सबै काम भ्याइहाल्नी सोचले नि कतिपय आउँछन् ।

नामसारी, भागबण्डा जस्ता सेवाहरुमा सबैभन्दा बढि काम हुन्छ र यसको लागि ३÷४ दिन लाग्दछ ।’ धेरैवर्ष अगाडि मानिसहरु सबै पढेलेखेका थिएनन् । सोही कारण लेखापढी व्यवसायीको व्यवस्था गरिएको तर अहिले सोही लेखापढिको व्यवस्था हटाउन राज्यले पनि नसकेको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्