
दलहरुले छिटो सहमति गरेर एमसीसी पास गर्नुपर्छ: डाक्टर भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दलहरुले छिटो सहमति गरेर एमसीसी पास गर्नुपर्ने बताएका छन् ।
सोमवार कार्यकर्ता भेलालाई सम्बोधन गर्न गोरखा आएका उनले पत्रकार भेटघाटमा भने, ‘राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ ।’ आफ्नो पार्टी जनता समाजवादी एक्लैको निणर्यले एमसीसी पास गर्न सम्भव नभएको उनले बताए ।
‘एमसीसीले सबै पुग्ने होईन, तर खानै नपाउने गरिबलाई एक छाक खान दिएको कुरा खाँदा सन्तोष हुन्छ भने जस्तै हो । मलुकको पूरै समस्या एमसीसीले हल हुने होइन’, एमसीसीबारे प्रष्ट्याउँदै उनले भने ।
एमसीसीको बिषय अहिले गिजोलिएर जनस्तरसम्म भ्रम सिर्जना भएको र ठिक कि बेठीक भन्ने विषयले प्रश्रय पाएको भट्टराईले बताए । ‘राष्ट्रिय सहमतिबाट नै यो छिटो टुङ्गो लागोस्’, उनले भने ‘सम्झौता राष्ट्रिय हितमा हुने गरी यसलाई अघि बढाउनुपर्छ ।’
एमसीसी अनुदान सहयोग सम्झौताभन्दा बढि केही नभएको उनले दाबी गरे । यस्तो थुप्रै देशहरुसँग हुने गरेको तर यो सबैभन्दा ठुलो सम्झौता भएकाले संसदबाट पास गर्न खोजिएको उनले बताए ।
‘हाम्रो संविधान अनुसार त्यो (संसदबाट पास गर्न) आवश्यक थिएन’, उनले भने, ‘बिगतमा यस्ता सम्झौतामा बिवाद बढी भएको हुनाले राष्ट्रिय सहमति जुटाउ सहज हुन्छ भन्ने कोणबाट हाम्रो (नेपालको) तर्फबाट माग गरेर राखिएको रहेछ । तर फेरि हाम्रो त कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हालेपनि बांङ्गाको बाङ्गै भनेजस्तो हामीले सिक्ने कुरा भएन ।’
एमसीसी त्रिपक्षीय चासोको विषय बनेको बताउँदै उनले बिदेशी ठूला राष्ट्रलाई अनावश्यक ढंगले बिच्क्याउँदा उसले पनि प्रतिशोध राख्न सक्ने आशंका ब्यक्त गरे । सानातिना कुरामा बखेडा झिकेर बिच्क्याउँदा अन्य बैदेशिक सहयोग पनि घट्न सक्ने तर्फ उनले इङ्गित गरे । एमसीसी संसदबाट साधारण बुहमतबाट अनुमोदन गर्ने भन्ने प्रवधान राखिएको उनले बताए ।
‘सरकारमा छँदा एउटा कुरा, सरकार बाहिर रहेपछि अर्को कुरा गर्ने हाम्रा नेताहरुको गलत प्रवृत्ति हो’, नेकपा एमाले प्रति लक्षित गर्दै उनले भने । केही दलहरुको पुराना कम्यूनिष्टहरुको एउटा धङ्धङीका कारण आन्तरिक पार्टीको संघर्ष पनि प्रतिबिम्बित हुन पुगेको उनले बताए ।
पछिल्लो समय राजनीतिक द्वन्द्वको बाछिटा पनि एमसीसीमा परेको उनले बताए । भारतसँग सहयोग लिँदा चीन र अमेरिका पक्षले भित्रभित्र उक्साइदिने, चिनसँग सहयोग लिँदा भारत र अमेरिकी पक्षले उक्साईदिने, र अमेरिकासँग लिन खोज्दा चिन, भारत पक्षले उक्साईदिने गरेको उनले बताए ।
संविधानको बारम्बार उल्लंघन गर्ने एमाले नेतृत्वले अहिले विधि, विधानको बखेडा झिकेर संसद अबरुद्ध गर्नु ‘जो चोर उसकै ठूलो स्वर’ भएको प्रतिक्रिया उनले दिए । अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उनले बताए ।
पछिल्लो समय प्राविधिक कारणले सरकारले पूणर्ता पाउन नसकेको बताउँदै उनले सरकारको विश्वसनियतामाथि प्रश्न उठेकाले छिटो भन्दा छिटो सरकार गठन हुने दावी गरे ।




