
जिसस मौज्दाद कोषको रकम पालिकाले लगेनन्
जिल्ला समन्वय समिति गोरखाको मौजाद कोषको रकम गोरखाको ११ वटै पालिकालाई दिने निर्णय भएको तीन वर्ष बित्यो । तर अझैपनि सबै पालिकाले कोषको रकम खर्च गर्न सकेका छैनन् ।
दुईवटा नगरपालिकालाई एक करोड ४० लाख, चुमनुब्री गाउँपालिकालाई एक करोड २० र अन्य पालिकालाई एक करोड १० लाख दिने तीनबर्षअघि नै निर्णय भएको थियो । तर अहिलेसम्म १२ करोड ८० लाख रकममध्ये जम्मा पाँच करोड मात्रै निकासा भएको जिल्ला समन्वय समितिले जनाएको छ ।
चुमनुब्री, सिरानचोक गाउँपालिकाले योजना सम्झौता नै गरेका छैनन् भने बजेट निकासा हुन सकेको छैन ।
गोरखा र पालुङटार नगरपालिकालाई एक करोड ४० लाख रुपैयाँ बजेट दिने निर्णय भएको थियो । पालुङटार नगरपालिकाले प्रशासकीय भबन निर्माणका लागि उक्त रकम खर्च गरेको छ । ‘पालुङटारले एक करोड ४० लाख नै लगेको छ’, जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले भने ।
गोरखा नगरपालिकाले ३३ लाख ८३ हजार मात्रै लगेको छ । गोरखा नगरपालिकाले वडा नम्बर १२ को भबन निर्माणका लागि उक्त बजेट खर्च गरेको हो । बाँकी रकम केमा खर्च गर्ने भन्ने बारे नगरपालिकाले सम्झौता गर्न बाँकी छ ।
चुमनुब्री गाउँपालिकालाई एक करोड २० लाख दिने निर्णय भएको थियो । प्रशासकीय भबन निर्माणमा बजेट खर्च गर्ने योजना पालिकाको रहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए । तर अहिले सम्म बजेट निकास नै नभएको जिससले जनाएको छ । गाउँपालिकाको प्रशासकीय भबनको टुङ्गो नलाग्दा त्यहाँ बजेट खर्च हुन नसकेको हो ।
सिरानचोक गाउँपालिकाले प्रशासकीय भबन निर्माणका लागि उक्त रकम खर्च गर्ने जनाएको छ । गाउँपालिकाको केन्द्र टुङ्गो नलाग्दा एक करोड १० लाख रुपैयाँ जिल्ला समन्वय समितिको मौजाद कोषको रकम उक्त गाउँपालिकाले निकासा लैजान सकेको छैन ।
भिमसेन थापा गाउँपालिकाले खानेपानी आयोजनालाई उक्त रकम बिनियोजन गर्ने प्रस्ताब पेश गरेपनि रकम निकासा भने भएको छैन ।
बारपाक सुलिकोट गाउँपालिकाले गाउँपालिकाको भबन निर्माणका लागि ७७ लाख लगिसकेको छ । बारपाक वडा नम्बर ८ को भबन निर्माणका लागि बाँकी ३३ लाख १२ हजार पनि निकास भईरहेको समन्वय अधिकारी नानीबाबु पोखरेलले बताए ।
धार्चे गाउँपालिकाले प्रशासकीय भबनका लागि गत वर्ष ७७ लाख लगेको छ । ३३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । प्रशासकीय भबन निर्माण पुरा भए सँगै उक्त रकम निकासा हुने जिससले जनाएको छ ।
गण्डकी गाउँपालिकाले मलामे खानेपानी आयोजनाका लागि १५ लाख निकासा लगेको छ । बाँकी रकम गाउँपालिकाको भबन निर्माणमा खर्च हुनेछ । त्यहाँ पनि केन्द्र बिवादका कारण भबन बन्ने ठाउँ टुङ्गो नलाग्दा समस्या रकम निकासा भएको छैन ।
अजिरकोट गाउँपालिकाले बुद्धज्योती आबासीय विद्यालय भबन मर्मतका लागि चार लाख ९० हजार निकासा लगेको छ । सोही विद्यालयको मर्मत पूरा भएपछि दुई लाख १० हजार लैजान बाँकी छ । खरिबोट खानेपानी आयोजनाका लागि १० लाख मध्ये सात लाख निकासा भइसकेको जिल्ला समन्वय अधिकारी पोखरेलले बताए । एक करोड १० लाखमा अन्य रकम निकासा हुन बाँकी छ ।
आरुघाट गाउँपालिकाले वडा नम्बर ८ र १० को भबनका लागि ५८ लाख ८७ हजार सम्झौता गरेकोमध्ये ४२ लाख ८६ हजार निकासा भएको छ । १६ लाख निकासा हुन बाँकी छ । बाँकी रकम सम्झौता भएको छैन ।
शहीदलखन गाउँपालिकाले प्रशासकीय भबनका लागि गत वर्ष ७७ लाख निकासा लगेको छ । मकैपुर प्राविको भबन मर्मतका लागि पाँच लाख ७३ हजार सम्झौता भएकोमा चार लाख एक हजार मात्रै गएको छ । एक लाख ७२ हजार निकासा हुन बाँकी छ ।
शहीदलखन ८ मा वडा कार्यालय भबन मर्मतका लागि आठ लाख चार हजारमा सम्झौता भएको थियो । त्यो मध्ये जिससबाट पाँच लाख ६३ हजार मात्रै निकासा भएको छ । दुई लाख ९३ हजार निकासा हुन बाँकी छ ।




