
‘आत्माआलोचना गरे एमालेसित फेरि एकता हुनसक्छ’
नेकपा(एकीकृत समाजवादी)का गण्डकी प्रदेश कमिटी इञ्चार्ज केशवलाल श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले आत्माआलोचना गरेमा पार्टी एकता हुनसक्ने बताएका छन् । नेकपा(एस)को शनिबार आयोजित पहिलो बैठकमा सहभागी हुन आएका श्रेष्ठले पत्रकारहरुसितको भेटमा ओलीले गल्ती महशुस गरेर आत्माआलोचना गरेमा पार्टी एकता हुनसक्ने तर्क गरे ।
‘कुनै पनि जीवित पार्टीमा एकता, संघर्ष, फेरि एकता भइरहन्छ’, उनले भने, ‘ओलीले प्रधानमन्त्रीको कुर्चीमा रहँदा लामो समयको संघर्षपछि निर्माण भएको संविधान उल्लंघन गर्नुभयो । पार्टीको नवौँ अधिवेशनले पारित गरेको कार्यदिशा पनि उल्लंघन गर्नुभयो । उनको कार्यशैलि पार्टीभित्र, बाहिर सर्वत्र आलोचित भएपछि हामीले बिकल्प सोच्नु अनिबार्य भयो ।’ यदि उनले आत्माआलोचना गरेमा पुनः एकीकरण हुनसक्ने उनले बताए ।
सोही क्रममा बोल्दै श्रेष्ठले एमसिसी कुनै पनि हालतमा संसदले पास गर्न नहुने दाबी गरे । एमसिसी राष्ट्रको हितमा नरहेको भन्दै उनले यसलाई पास गर्नु राष्ट्रका लागि घातक भएको उनले बताए ।
‘एमसिसीले कुनै पनि दृष्टिकोणले राष्ट्र हितको पक्षमा छैन’, उनले भने, ‘विद्युत प्रशारण लाइन निर्माण गर्दा नेपाल विद्युत प्राधिकरणले गर्दा प्रति किलोमिटर चार करोड रुपैयाँ खर्च हुन्छ तर एमसिसीले प्रशारण गर्दा प्रतिकिलोमिटर २२ करोड खर्च गर्ने प्रस्ताब गरेको छ । एमसिसी कार्यन्वयन गर्दा कोषमा नेपालले पनि योगदान गर्नुपर्ने व्यवस्था छ । नेपालले योगदान गरेको लागतमा निर्धारित ट्रान्समिशन लाइन विस्तार गर्न सकिन्छ । एससिसीबाट प्राप्त बजेट घुमाइफिराइ उतै लान्छन् ।’ साथै नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको हुँदा कुनै देशको सेनासँग पनि सैन्य गठबन्धन गर्न नहुने उनले तर्क गरे ।
यसैबीच नेकपा(एस)ले शनिबार गोरखा जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न गरेको छ । बैठकले सदस्ता विस्तार गर्ने, पार्टीको कार्यदिशा गाउँटोल तहसम्म पु¥याउने, एमसिसीको बिरोध गर्ने लगायतका निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष यादव बस्नेतले जानकारी दिए ।




