
पाँच महिनापछि खुले बारपाक सुलिकोटका विद्यालय
गत बैशाखदेखि बन्द भएका बारपाक सुलिकोटका सामुदायिक विद्यालय बुधबारदेखि खुलेका छन् । स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गरिएको हिमालय माविका प्रधानाध्यापक जनी घलेले जानकारी दिए ।
‘स्वास्थ्य मापदण्ड पालना गरी आलोपालो प्रणाली अनुसार विद्यालय खुलाएका छौँ’, घलेले भने, ‘गाउँपालिकाको शिक्षा शाखा र अभिभावकको आग्रह अनुसार विद्यालय खुलाएका हौँ ।’कक्षा १ देखि कक्षा ६ सम्मका विद्यार्थीलाई आइतबार, सोमबार, मंगलबार र बाँकी विद्यार्थीलाई बुधबार, विहिबार र शुक्रबार गरी पठाएको उनले बताए ।
‘लामो समयपछि विद्यालय खुल्दा विद्यार्थी पनि खुशी भएका छन्, अभिभावक पनि खुशी भएका छन्’, उनले भने ।
त्यस्तै आहालडाँडाको सौरपानी सामुदायिक स्मृति आधारभूत विद्यालय पनि बुधबारदेखि खुलेको छ । आफूलाई औपचारिक रुपमा जानकारी नभए पनि गाउँपालिकाभर सात–आठवटा विद्यालय खुलेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख वसन्तराज भट्टले जानकारी दिए ।
गत भदौ १० गते सम्पन्न कार्यपालिका बैठकले विद्यालय खुलाउने सम्बन्धी निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।
‘गाउँघरका दूरदराजमा भर्चुअल कक्षा पनि प्रभावकारी हुन नसकेको र काठमाडौँ लगायतका जिल्लाहरुमा पनि विद्यालय खुलाउने निर्णय भएको हुँदा हामीले पनि निर्णय गरेका हौँ’, अध्यक्ष भट्टले भने, ‘कतिपय खुलिसकेका होलान्, बाँकी विद्यालय पनि आउँदो आइतबारदेखि खुल्नेछन् ।’ स्वाथ्य मापदण्ड कडाइका साथ पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको उनले बताए ।




