
गोरखाका कांग्रेस अधिवेशनको रस्साकस्सीमा
भदौ १८ गते हुने वडा अधिवेशनका लागि गोरखामा नेपाली कांग्रेसका नेता कार्यकर्ता तयारीमा जुटेका छन् । क्रियाशील सदस्य वडा समिति र प्रतिनिधि छनौटकालागि धमाधम वडा फर्कन थालेका छन् ।
गोरखाको ९४ वटै वडामा क्रियाशील सदस्य मध्येबाट २६ सदस्यीय वडा समिति चयन हुनेछ । १५० जना क्रियाशील सदस्य रहेको वडाबाट सभापतिबाहेक १५ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । एक सय ५० भन्दा थप एक सय जना अर्थात दुई सय ५० जना क्रियाशील रहेको वडामा थप १० जनाका दरले प्रतिनिधि थपिनेछन् । ‘क्षेत्रीय प्रतिनिधी, वडा समिति चयन गर्दा ३३ प्रतिशत महिला र समाबेशी रुपमा बनाउनुपर्छ’ कांग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेले भने ।
यसअघिको अधिवेशनमा गाउँ र नगरको सभापति हुन क्रियाशील सदस्य भए हुन्थ्यो । अहिले १४ औँ अधिवेशनमा भने वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले मात्र नगर र गाउँको सभापति पदमा प्रतिप्रर्धा गर्न पाउँछन् । सभापति बाहेकको पदमा भने क्रियाशील सदस्य रहेकाहरु पनि प्रतिष्पर्धा गर्न पाउनेछन् ।
मतदाता भने क्षेत्रीय प्रतिनिधि मात्र हुनेछन् । त्यसमाथिको क्षेत्र, प्रदेश र जिल्लाका लागि भने उमेद्वार हुन क्षेत्रीय प्रतिनिधि अनिवार्य हुनुपर्छ । १२ हजार भन्दाबढि सक्रिय सदस्य रहेको गोरखामा एक हजार सात सय प्रतिनिधि चयन हुनेछन् ।
वडाबाट चुनिएका प्रतिनिधि त्यसमाथिका सबै तहको चयन प्रक्रियामा मतदाता हुने भएकाले प्रतिनिधि चयनका बारेमा को–कसलाई गर्ने भन्ने योजना बनाउनमा नेता कार्यकर्ता जुटेका छन् । जिल्ला स्तरका नेताहरुले आफुलाई सघाउनेलाई प्रतिनिधि बनाउन लबिङ थालेका छन् । वडा समिति भन्दापनि प्रतिनिधि छनौटलाई नेताहरुले चासोका साथ हेरेका छन् । ‘कांग्रेस पार्टीमा योगदान गरेका, संगठनका लागि योगदान दिएका र शक्रिय भएर लागेकाहरु सबै अटाउने ठाउँ छ’ कांग्रेस सभापति हरिबहादुर घलेले भने, ‘वडादेखि नै सर्वसम्मत चयन गर्न सकियो भने सन्देश राम्रो जान्छ ।’
निर्वाचनको सम्बन्धमा नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारेमा सोमवार छलफल भएको छ । जिल्ला सभापति हरिबहादुर घलेको अध्यक्षतामा भएको बैठकमा केन्द्रबाट खटिएका निर्वाचन अधिकृत देवहादुर महतले निर्वाचन सम्बन्धि परिपत्रको बारेमा जानकारी गराएका थिए ।
वडा, गाउँ, प्रदेश क्षेत्र, क्षेत्र हुँदै जिल्ला तहसम्मको निर्वाचनको प्रक्रिया लगायतका बारेमा उनले जानकारी गराएका थिए । जिल्ला समिति सँगको बैठक लगत्तै प्राध्यापक र शिक्षक संघका पदाधिकारीसँग पनि छलफल भएको जिल्ला सचिव न्यौपानेले बताए । वडा स्तरको निर्वाचन प्रक्रियामा शिक्षक संघका प्रतिनिधि खटिएका छन् ।
कोरोनाको जोखिम न्यूनिकरण नभएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सामाजिक दुरी कायम गरी अधिवेशनमा सहभागी हुन सबै क्रियाशील सदस्यलाई आग्रह गरिएको सचिव न्यौपानेले बताए । ‘१८ गते हुने वडाको चुनावका लागि मंगलवारसम्म सबै वडामा पुग्नुहुन्छ’, उनले भने । सबै वडामा सर्बसम्मत समिति चयनको प्रयास हुने सचिव न्यौपानेले बताए ।




