
द्रव्यशाह क्याम्पसमा डिजिटल पुस्तकालय
त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयले द्रव्यशाह बहुमुखी क्याम्पस गोरखामा डिजिटल पुस्तकालय सेवा शुरु गरेको छ ।
केन्द्रीय पुस्तकालयले क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट अभिमुखीकरण कार्यक्रम गरी उक्त सेवाको थालनी गरेको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताए ।
केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुस्तकालय विज्ञद्वय विजय शर्मा र जीवनाथ न्यौपानेले रिमोटेक्सको माध्यमबाट विद्यार्थी तथा प्राध्यापकहरुले घरमै बसी आफुलाई आवश्यक पर्ने डिजिटल पाठ्य सामग्रीहरु के कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए ।
क्याम्पसले प्रथम चरणमा उक्त सेवा प्राध्यापक कर्मचारीहरु, स्नातकोत्तर तहका विद्यार्थीहरु एवं स्नातक तहका चौथो बर्षका विद्यार्थीहरुलाई प्रदान गरिएको र बाँकी विद्यार्थीहरुलाई पनि क्रमशः प्रदान गर्दै जाने कार्यक्रम रहेको क्याम्पस प्रमुख दुवाडीले वताएका छन् ।




