| सोमवार, कार्तिक २३, २०८३

धार्चे गाउँपालिका एक महिनादेखि कर्मचारीबिहिन

गोरखाको धार्चे गाउँ कार्यपालिका कार्यालय एक महिनादेखि कर्मचारीबिहिन छ । गत असार मसान्तमा बिल भरपाई फस्र्यौट सकेर घर विदामा गएका कर्मचारीहरु भदौ लागिसक्दा पनि हाजिरमा नफर्केका हुन् ।


बाटो असजिलो भएको र लकडाउन भएको कारण देखाउँदै कर्मचारी हाजिरमा नगएका हुन् । कार्यालयमा कर्मचारी नहुँदा भदौ पहिलो हप्ता गर्ने भनिएको कार्यपालिका बैठक हुन नसकेको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए । ‘भदौ छ गते कार्यपालिका बैठक गर्ने तयारी थियो, तर कर्मचारी नहुँदा बैठक हुन सकेन’, उनले भने, ‘अब भदौ १४ गते चौधौँ राष्ट्रिय पुस्तकालय दिवस मनाउने तयारी गरिरहेका छौँ ।

कर्मचारी आएनन् भने त्यो कार्यक्रम पनि असम्भव हुन्छ ।’
स्वास्थ्य शाखा र स्वास्थ्यचौकीका कर्मचारी भने काममा रहेका उनले बताए । ‘एकजना पशु शाखाका कर्मचारी छन् । स्वास्थ्य चौकी र स्वास्थ्य शाखाका कर्मचारी पनि छन् तर अरु कुनै पनि शाखामा कर्मचारी छैनन्’, अध्यक्ष गुरुङले भने, ‘फोन सम्पर्क गरेर सोध्दा कोही बाटो असजिलो छ भन्छन्, कोही लकडाउन सकेर आउँछु भन्छन् ।

’ जनप्रतिनिधिहरु दिनहूँ कार्यालयमा हाजिर भए पनि कर्मचारी नआएको उनले गुनासो गरे ।
कर्मचारी अनुपश्थित रहेको बारे जानकारी लिन धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीलाई धेरै पटक टेलिफोन सम्पर्क गर्दा पनि उनले फोन रिसिभ गरेनन् ।

प्रतिक्रिया दिनुहोस्