
भर्चुअल कक्षाले साना बालबालिकालाई सकस
गोरखा नगरपालिका ६ छहरेका सुविन पाठन गोरखा सदरमुकामस्थित एक बोर्डिङ स्कूलका कक्षा १० का फस्टब्वाइ हुन् । कक्षा आठबाट नौ मा जाँदा जिल्लाभरको दोस्रो सर्वोत्कृष्ठ स्थान हासिल गरेका उनलाई एसईईमा पनि यस्तै कीर्तिमान कायम गर्ने सपना थियो तर कोभिड महामारीले उँडाइदियो ।
कोभिड संक्रमणको त्रासले अहिले भर्चुअल माध्यमबाट पढाइ त भइरहेको छ, तर कक्षामा पढेजस्तो नहुने उनको अनुभव छ । ‘अनलाइनबाट पढाइ त हुन्छ तर यस्तो पढाइले चित्त बुझ्दैन’, उनी भन्छन्, ‘कक्षामा भए पो नबुझेको कुरा दोहो¥याई, तेहे¥याई सोध्न मिल्थ्यो अनि प्रष्ट बुझिन्थ्यो ।

अनलाइनमा पढ्दा न त्यसरी सोधिरहन पाइन्छ, न सोध्न भ्याइन्छ । एकफेर भनेको भरमा बुझ्यो भने बुझ्यो, नबुझे बुझेन । होमर्क गरे पनि भयो, नगरे पनि भयो ।’ अनलाइन विधिबाट पढेको छु भन्ने बाटो मात्र भएको तर सिक्न नसकिएको उनको अनुभव छ ।
ठूला भन्दा साना बालबालिकाको भविष्य बिग्रिएकोप्रति अभिभावक लाई ठूलो चिन्ता छ । ‘ठूलाले त अनलाइनमा पढिरहेको देखिन्छ, तर साना बालबच्चाले न अनलाइनमा पढेको बुझ्छन्, न मोबाइलतिर ध्यान दिन्छन्’, अभिभावक बीना पाठक भन्छिन्, ‘मेरो पाँचबर्षको बच्चा नयाँ–नयाँ कुरा ठ्याक्क सिक्ने बेला भएको छ । यो बेलामा स्कूल पठाउन पाए कति राम्रो पढ्थ्यो होला । घरमा मोबाइलमा के हो, के हो, केही बुझ्दैन । मोबाइलमा पढ्ने भनेको टाइमपास मात्र भएको छ ।’ धेरै बालबच्चा पढ्ने भनेर मोबाइल लिएर बस्ने तर कोही सुत्ने, कोही खेल्ने, कोही चल्ने गरेर समय बिताउने गरेको उनको भनाइ छ ।
शहीदलखन गाउँपालिका १ दिप्लिङकी धनमाया गुरुङ एक छोरा र एक छोरीलाई गुणस्तरीय शिक्षा पढाउन गोरखा सदरमुकाम आएर बसेकी छिन् ।
छोरी कक्षा ६ र छोरा ५ मा पढ्छ तर कोरोना महामारीले गर्दा बालबच्चालाई राम्ररी पढाउन नपाएको उनको चिन्ता छ । ‘बजारमा कोरोना छ भनेपछि असारभरि गाउँमा गएर बसे । साउन लागेपछि यता आएर पढ्न थालेका छन्’, उनी भन्छिन्, ‘तर पढेको भनेको मात्रै हो । कक्षामा भए पो शिक्षकको आँखा अगाडि हुँदा राम्ररी पढ्थे, अनलाइनमा बसेर पढे पनि भयो, नपढे पनि सरमिसलाई थाहा हुदैन । अनलाइनबाट जाँच गरेर पास त जसरी पनि गर्देलान्, तर सीप बढ्दैन ।’
अनलाइनमा पढ्दा छिनछिनमा विद्युत सेवा अवरुद्ध भएर बालबालिका हैरान हुने गरेका छन् । ‘दुई तीन जना छोरा छोरी हुन्छन् । दुईतीन वटै स्मार्ट मोबाइल चाहियो ।
झ्यापझ्याप लाइन गइरहन्छ । फेरि डाटा खोल्नु प¥यो । एउटामा डाटा खोलेर भएन, सबैमा खोल्नुप¥यो’, धनमाया भन्छिन्, ‘धेरै महंगो, धेरै झञ्झटिलो भएर पनि सिकाइचाहिँ गुणस्तरीय हुदैन ।’ कोरोना महामारीका कारण २५ प्रतिशत विद्यार्थी हराइरहेका प्याब्सन गोरखाका अध्यक्ष सीताराम तिवारी बताउँछन् । ‘भौतिक रुपमा उपस्थित हुन नपाएपछि नीजि विद्यालयका औसतमा २५ प्रतिशत विद्यार्थीहरु हराइरहेका छन्’, उनी भन्छन्, ‘कोही गाउँघरतिर गएर बसेका होलान्, कोही काठमाडौँ, पोखरातिर गए होलान् । हामीले सम्पर्क गर्दा स्कूल खुलेपछि आउँछौ त भन्छन्, तर केही निश्चित छैन ।’ अनलाइन कक्षाले सक्षम विद्यार्थी अगाडि, कमजोर विद्यार्थी पछाडि परिरहने अबस्था रहेको उनले बताए । अनलाइन पढ्नका लागि सन्तानैपिच्छे मोबाइल किन्न नसक्ने अभिभावक धेरै रहेको भन्दै उनले शैक्षिक अबस्था धेरै धरासायी बन्दै गएको बताए ।




