
विपद् ब्यवस्थापन प्राधिकरणको टोली स्थलगत अध्ययन गर्न खाद्यान्न सहित उत्तरी गोरखामा
राष्ट्रिय बिपद् न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणको टोली ‘रेकी भिजिट’ (स्थलगत अध्ययन) गर्न उत्तर गोरखा पुगेर फर्किएको छ । १२ क्लिवन्टल खाद्यान्न लिएर नेपाली सेनाको हेलिकप्टरमा उत्तरी गोरखा पुगेको प्राविधिक सहितको टोलीले पैदलमार्ग, पुल, पहिरोले क्षती पुगेको बस्तीको अवलोकन गरेको टोलीमा सहभागी नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पण्डेले बताए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल पोखरेल, कांग्रेस केन्द्रिय सदस्य पाण्डे, चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ, गोरखाका प्रमुख जिल्ला अधिकारी सालिग्राम शर्मा पौडेल, एसपी शेखर खनाल लगायत इन्जिनियरको टोली सहभागी थिए ।
खाद्य तथा ब्यापार कम्पनी लिमिटेडबाट १२ क्लिवन्टल चामल फिलिम स्थित डिपोमा लगेर छाडिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । ‘खाद्यान्न पु¥याउन गएका बेला स्थलगत रुपमा अध्ययन गर्न प्राविधिक टोली सहित हामी गएका हौँ’ उनले भने ।

तत्काल उत्तरी गोरखा जाने पैदलमार्ग सुचारु गराउने, खच्चड हिड्ने माध्याम तयार गर्ने, पुल निर्माण गर्ने, पहिरोले बिस्थापित घर पुनस्र्थापना गर्न प्राधिरणले प्राविधिक सहयोग गर्ने सिईओ पोखरेलले बताए ।
‘छरिएर रहेको घरलाई एकिकृत बस्तीको रुपमा बिकास गर्न आवश्यक देखियो’ सिईओ पोखरेलले भने ‘ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले सिङ्गो गाउँपालिका सम्पर्क बिच्छेद भएको, खाद्यान्न हाहाकार भएको बारे पटक पटक जानकारी गराउनुभएको थियो ।’

सदरमुकाम सँग सम्पर्क बिच्छेद भएको चुमनुब्री गाउँपालिका जाने पैदल बाटो, पहिरोले बगाएको पुल निर्माण गरिदिन, खाद्यान्न, औषधी ढुवानीका लागि गाउँपालिका अध्यक्ष गुरुङले गृहमन्त्रालयमा पटक–पटक गुनासो गरेका थिए ।




