
गोरखामा बिओपी स्थापना ‘गफ’ मात्रै
उत्तरी गोरखाका दुई नाकामा बोर्डर आउटपोष्ट(बिओपी) स्थापना गर्ने बिषय ‘गफ’मै सीमित भएको छ
। बिगत एकबर्षअघिदेखि बिओपी राख्ने भनेर गरिएको गृहकार्यले मूर्त रुप लिन नसकेको हो ।
गोरखाको ङुइला(मुलाढाज्यान) नाका र रुइला नाकालाई केन्द्रीत गरी दुई ठाउँमा बिओपी राख्ने तयारी गरिएको थियो । तर, मन्त्रालयबाटै बिओपी निकासा नआएको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल बताउँछन् ।
‘बिओपी राख्नका लागि हामीले जिल्ला तहबाट गर्नुपर्ने गृहकार्य पूरा गरिसकेका छौँ’, प्रजिअ पौडेलले भने, ‘बिओपी राख्ने स्थान पहिचान गरिसकेका छौँ । स्थायी संरचना नबनुञ्जेलका लागि भाडामा बस्ने घरहरु पनि ब्यबस्था गरिसकेका छौँ ।
स्थानीयबासीसँग समन्वय भइसकेको छ ।’ मुलाढाज्यान नाकाका लागि पाङ्दुन र छुलेको बीचको उच्चस्थानमा बिओपी राख्न स्थान निश्चित गरिएको उनले बताए ।
त्यस्तै रुइला नाकाका लागि साम्दोभन्दा केही पर लार्केबाबुमा बिओपी राख्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विओपीमा आबश्यकता अनुसार १७ जनाभन्दा धेरै सशस्त्र प्रहरी राख्ने सरकारले तयारी गरेको थियो ।
जिल्लास्तरबाट सबै तयारी पूरा भएर पनि कार्यान्वयन पक्षमा जान माथिबाट निर्देशन नआएको गोरखास्थित सशस्त्र प्रहरी बल नम्बर २९ गुल्मले जनाएको छ ।
बिओपी स्थापना गर्न अहिले दक्षिणी नाका प्राथमिकतामा परेकाले उत्तरी नाका ओझेलमा परेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
सरकारले दक्षिण नाकाका २१७ स्थानमा बिओपी स्थापना गरिसकेको उनले बताए ।
उत्तरतर्फ १७ स्थानामा बिओपी स्थापना गर्ने भनिएकामा सात ठाउँमा मात्र स्थापना भइसकेको सशस्त्र प्रहरी प्रबक्ता डिआईजी राजु अर्यालले जानकारी दिए ।
ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, मुस्ताङको नेचुङ र कोरला र हुम्लाको हिल्सामा बिओपी स्थापना गरिसकेको उनले बताए ।
गोरखा लगायत अन्य जिल्लाका नाकामा कहिले स्थापना हुन्छ भन्ने बारे आफू पनि जानकार नरहेको उनले बताए ।
सरकारसँग सो क्षेत्रका शीर्ष तहका नेता तथा जनप्रतिनिधिले पहल गरेमा गोरखाको बिओपी पनि प्राथमिकतामा पर्ने प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलको भनाइ छ ।




