
पहिरोले झोलुङ्गे पुल चुँडेपछि खाद्यान्न बोकेर चुमभ्याली गएका खच्चड रोकिए
पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका ६, ७ जोड्ने झोलुङ्गेपुल चुँडेपछि खाद्यान्न बोकेर चुमभ्याली तर्फ गएका खच्चड बुधवार बिहान देखि रोकिएको छ । खच्चड ब्यवशायी कसरी सामग्री गन्तब्य सम्म पु¥याउने भन्ने अन्यौलमा छन् । पुरानो बाटो खोज्ने काम भईरहेको स्थानीय सरोज लामाले बताए ।
चुमनुब्री गाउँपालिकाले त्यहाँको अवस्थाबारे वडा सँग जानकारी लिएर बैकल्पिक ब्यवस्था गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भने ‘तत्कालका लागि बैकल्पिक बाटो खोल्ने अवस्था रहेछ भने गाउँपालिकाले सहयोग गर्छ, पुल दुई चार दिनमा बनाउन सक्ने अवस्था हुँदैन, त्यसका लागि पहल गर्छौँ ।’
मंगलवार रातीको पहिरोले लोक्पा स्थित डुयु खोला पुल भत्काएको हो । पुल नभएपछि चुम्चेत र छेक्पार आउजाउमा समस्या भएको छ ।
‘मंगलवार बिहान सम्म मानिस आउजाउ गरिरहेका थिए’ उनले भने ‘बुधवार बिहान त पुल पहिरोले बगाएछ ।’ पुल चुँडिदा खाद्यान्न बोकेर गएका खच्चड रोकिएका छन् । ‘चार पाँच ग्रुप (४०,५० वटा) खच्चड पुल चुँडिदा खाद्यान्न सहित रोकिएका छन्’ लामाले भने । उक्त पुल १० वर्ष अघि कादुरी संस्थाले निर्माण गरेको थियो ।
पैदल हिड्नेहरु पुल नहुँदाको भिरको बाटो खोज्दै हिडेका छन् ।




