
१० वर्षपछि बन्यो सोतीखोला पुल
उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका प्रवेशद्वार भनेर चिनिने सोतीखोलाको पुल १० वर्षपछि निर्माण सम्पन्न भएको छ । २५ मिटर लामो मोटरेबल पक्की पुल दुई करोड २४ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।
‘ढिलै भएपनि पुल बनेको छ, गाडी गुड्न सुरु गरिसक्यो’, ठेक्का लगाउने ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख राजेश यादबले भने, ‘अब जनतालाई केही सहज हुने भएको छ ।’
आरुघाट गाउँपालिकाको सोती खोलामा निर्माण प्रस्ताब गरिएको सो पुल रायमाझी इसान जेभीले २०६८ सालमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७० सालमा पुल निर्माण सम्पन्न गरिसक्नु पर्नेमा निर्माण कम्पनीको हेलचेक्र्याइँले पुलको दुबैतर्फ ‘फाउन्डेसन’ मात्रै तयार गरेको थियो ।
त्यही पनि सोती खोलामा बाढी आएर फाउण्डेसन पुरेपछि निर्माण ब्यवशायीले काम छाडेका थिए । बाँकी काम पूरा गर्न समस्या भएको दावी गर्दै निर्माण कम्पनीले सम्पन्न भएजतिको भुक्तानी लिएर छाडेपछि आयोजनाले काम लगाउन नसकेको योजना कार्यालयका प्रमुख राजेश यादवले बताए । समयमै काम नगरेको भन्दै कार्यालयले जरिवानाको तयारी गरेको थियो । सरकारले लामो समय अलपत्र भएका योजना सम्पन्न गर्न एक वर्ष म्याद थपेपछि निर्माण ब्यवशायीले उक्त अवधीमा काम गरेको कार्यालयले जनाएको छ ।
‘अधिकांश काम निर्माण ब्यवशायीले आर्थिक वर्ष २०७७/०७८ मा गरेका हुन्’, कार्यालय प्रमुख यादबले भने । ठेक्का अलपत्र छाड्दा कालो सुचीमा पर्ने डरले निर्माण कम्पनी काममा फर्किएको हो । पुल निर्माणका क्रममा फाउण्डेसन बाढीले पुरेपछि डिजाईनमा केही फरक गरेर तयार गरिएको यादब बताउँछन् ।
सडक कार्यालयलाई पुल निर्माण छिटो गरिदिन बारम्बार आग्रह गर्दै आएका स्थानीयबासी आजित भएका थिए । अहिले पुल बनेसँगै उनीहरु खुसी र उत्साहित छन् । ‘अब धार्चेका जनतालाई धेरै सजिलो भयो’, धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङले भनिन्, ‘गाउँपालिकाको कार्यालय जान मुस्किल थियो, सोती खोलामा रोकिनुपथ्र्यो ।’ फुङ्गीखोला, खानीबेसीको खहरेखोला र न्याउलीखोलामा केही सुधार गर्ने हो भने सडकबाट धार्चे गाउँपालिकाको केन्द्र सहजै पुग्न सकिने उपाध्यक्ष गुरुङ बताउँछिन् ।
उक्त पुल सञ्चालनमा आएपछि अहिले सोतीसम्म गएको यात्रुबाहक सवारी साधन माछाखोलासम्म जान सहज हुनेछ । मनास्लु क्षेत्र र पदमार्गमा यात्रा गर्न जानेहरुलाई पनि सजिलो हुने चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए । ‘पुल बनेसँगै पैदलबाटो छोटिएको छ, खाद्यान्न बोकेर, खच्चडमा लैजानुपर्ने ठाउँमा पनि केही सजिलो हुन्छ’ उनले भने । माछाखोलामा पुल बनेपछि चुमनुब्रीतर्फ जान अझै सहज हुने श्रेष्ठ बताउँछन् ।
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा सडक ट्रयाक खुलेको छ तर चुमनुब्री सडक सञ्जालले जोडिएको छैन । त्यहाँ दैनिक उपभोग्य सामग्री, निर्माण सामगी सबै खच्चड र हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता स्थानीयलाई छ । सोती खोलामा पुल बनेपछि त्यहाँबाट भारी बोकेर जाने खच्चड माछाखोलाबाट जान सहज हुनेछ ।
नेपाली सेनाले अहिले तिब्बत जोड्ने सडकको ट्रयाक खनिरहेको छ । करिब ३५ किलोमिटर नयाँ ट्रयाक खोलिसकेको सेनालाई उक्त पुल नबन्दा निर्माण सामग्री, तेल, खाद्यान्न ढुवानी गर्न समस्या भएको थियो ।
तस्विर सौजन्य : डिलबहादुर गुरुङ




