
धार्चेमा साउन १७ बाट विद्यालय खुल्ने
गोरखाको धार्चे गाउँपालिकामा साउन १७ गतेबाट विद्यालय खुल्ने भएको छ । कोभिड १९ को महामारीको बिच लामो समयदेखि बन्द विद्यालय खोल्न गाउँपालिकाले निर्देशन गरेको हो ।
प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयलाई पत्राचार गर्दै सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना हुने गरी नियमित विद्यालय संचालन गर्न निर्देशन गरेका छन् ।
कोभिड संक्रमणको दर घटेको, भ्याक्सिन लगाउने क्रम चलिरहेको र बैकल्पिक माध्यामबाट पठनपाठन गर्न भौगोलिक बिकटताको कारण संभव नभएकाले विद्यालय संचालनको निर्णय गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । टेलिफोनको नेटवर्क समेत राम्रो सँग नटिप्ने दुर्गम गाउँमा इन्टरनेटबाट विद्यार्थीलाई पठन पाठन गराउन संभव नभएको उनले बताए ।




