| सोमवार, कार्तिक २३, २०८३

सिरानचोक ६ डाँडेमा राष्ट्रिय विभूति अमरसिँह थापास्मृति उद्यान निर्माण हुदै

राष्ट्रिय विभूति अमरसिँह थापाको जन्मस्थल सिरानचोक गाउँपालिकामा अमरसिँह थापा स्मृति उद्यान निर्माण कार्य सुरु भएको छ ।

वडा नं. ६ डाँडेमा दुईपटक विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरी स्मृति पार्क निर्माण गर्न थालिएको गोरखा अमरसिँहनगर पर्यटनका अध्यक्ष हरि थापाले जानकारी दिए ।
अमरसिँह स्मृति उद्यान निर्माणका लागि २०४ औँ अमरसिँह स्मृतिदिवसको उपलक्ष्यमा गत बर्षको साउन १६ गते सिलान्यास र झण्डोत्तोलन गरिएको थियो । अमरसिँह स्मृति उद्यान निर्माणका लागि स्थानीय छविलाल थापाले चार रोपनी जग्गा निशुल्क उपलब्ध गराएका थिए ।


अमरसिँह स्मृति उद्यान निर्माणका लागि गण्डकी प्रदेश सरकार र सिरानचोक गाउँपालिकाले संयुक्त रुपमा तीनकरोड रुपैयाँ बिनियोजन गरेका छन् ।
अमरसिँह स्मृति उद्यानमा अमरसिँह थापाको पूर्ण कदको सालिक निर्माण गरिनेछ । त्यस्तै उनका पिता बाघ भीमसिँह थापा र उनका छोरा रर्णोज्वरसिँह थापाको अर्धकदको सालिक निर्माण हुनेछ ।
त्यस्तै उद्यानमा फाउण्टेनसहितको पोखरी, गोलघर, पुस्तकालय, पिकनिक स्थल, सामुदायिक भवन, खानेपानी, सौचालय लगायतका संरचना निर्माण हुने अध्यक्ष थापाले जानकारी दिए ।


नेपाल एकीकरणका लागि राष्ट्रिय विभूति अमरसिँह थापाको योगदानको प्रचार प्रसार गर्न सिरानचोक गाउँपालिकाले विभिन्न प्रयास गरेको छ । गाउँपालिकाले नेपाली सेनासँग सहकार्य गरी श्रीनाथकोटस्थित कोत तथा गढीको प्रवद्र्धन गर्न पनि विभिन्न कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्