| सोमवार, कार्तिक २३, २०८३

गोरखामा कोरोनाका सक्रिय संक्रमित तीन सय ४५ जना

गोरखामा सोमवार ३७ जना कोरोना संक्रमित थपिएका छन् । शहीदलखन गाउँपालिकामा १७ जना, भीमसेन थापा गाउँपालिकामा १२, आरुघाट गाउँपालिकामा छ जना र अजिरकोट गाउँपालिकामा दुई जना थपिएका स्वास्थ्य कार्यालयको सुचना अधिकारी नबराज खड्काले बताए ।

सोमवार थपिएका सँगै गोरखामा कोरोनाको सक्रिय संक्रमितको संख्या तीन सय ४५ पुगेको छ । सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ७७ जना सक्रिय संक्रमित रहेका छन् । शहीदलखन गाउँपालिकामा ५९, अजिरकोटमा ५८, गोरखा नगरपालिकामा ४०, भीमसेन थापामा ३३, पालुङटार नगरपालिकामा १९, गण्डकीमा ३६, सिरानचोकमा सात, धार्चेमा ११ जना, चुमनुब्री गाउँपालिकामा ३ जना, बारपाक सुलिकोटमा एक र जिल्ला बाहिर कोरोना पोजेटिभ पुष्टि भएका एक जना अहिले गोरखामा छन् ।

‘केही दिन यता संक्रमण दर बढेको छ’ सुचना अधिकारी खड्काले भने । अहिले सम्म गोरखामा पिसिआर नमुना संकलन सात हजार सात सय ४९ भएको छ । यो मध्ये पाँच जनाको मात्र रिपोर्ट आउन बाँकी छ । एन्टिजेन जाँच आठ हजार पाँच सय ५५ जनाको भएको छ । जिल्ला भित्र कोरोना पोजेटिभ देखिएर मृत्यू भएका र जिल्ला बाहिर कोरोना पोजेटिभ भएर मृत्यू भएकाको संख्या ५० पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण दर गोरखामा २७.८२ प्रतिशत छ भने निको हुने दर ९१.८६ प्रतिशत रहेको सुचना अधिकारी खड्काले बताए । मृत्यू दर सुन्य दशमलव ५५ प्रतिशत छ । २१ देखि ४० वर्ष उमेर समुहका मानिसमा कोरोना संक्रमणदर बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्